जेठ ३२, एजेन्सी । कोपा अमेरिका २०१९ को उद्घाटन खेलमा घरेलु टोली ब्राजिलले शानदार जित निकालेकाे छ । शनिबार बिहान भएको खेलमा ब्राजिलले बोलिवीयामाथी ३-० को सहज जित निकालेको हो ।
ब्राजिलको जितका लागि काउटिन्होले दुई र एभर्टन सुआरेजले एक गोल गरे । ब्राजिलले तीनै गाेल दाेस्राे हाफमा गर्याे । पहिलो हाफमा गोलरहित बराबीमा सकिएकाे थियाे ।
खेलको ५० औं मिनेटमा काउटिन्होले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। बोलिभियाका डिफेन्डरले ह्यान्ड गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा निर्णय लिएका थिए ।
पेनाल्टीमा गोल गरेको तीन मिनेटपछि नै कोउटिन्होले अग्रता दोब्बर पारे । उनले रोबर्टो फिर्मिनोको क्रसलाई ६ यार्ड बक्सभित्रबाट अनमार्क रहेको अवस्थामा हेडरमार्फत गोल गरे ।
खेलको ८५ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विंगर एभरटनले गोल गर्दै सहज जित पक्का गरे । उनले मैदानको बायाँ विङ्गबाट बलमा उत्कृष्ट नियन्त्रण देखाउँदै गोल गर्न सफल रहे ।
यस जितसँगै ब्राजिलले पहिलो खेलमा नै ३ अंक जोड्न सफल रहेको छ । ब्राजिलको समूहमा बोलिभियासँगै पेरु र भेनेजुएला रहेका छन ।

