जेठ २९, काठमाडौं । जोरपाटी हुँदै सुन्दरीजल जाने सडक वर्षौ भयो अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइरहेको छ ।
गोकर्णको घुम्तीमा हरेक दिन ४ बजेदेखी बेलुका ७ बजेसम्मको सवारी जामले सास्ती खेप्दै आईरहेका सर्वसाधारण र यात्रुलाई दिक्क लाग्नेसंगै धुलोले सास फेर्न नसक्ने अवस्था सिर्जना गरेको छ । त्यस्तै मङ्गलबार दिउँसो २ बजे त्यसै घुम्तीमा एउटा चामल बोक्ने गाडी पल्टिएको छ ।

बाटोको खाल्डाखुल्डी र बढ्दो जामका कारण गाडी पल्टिएको प्रत्यक्षदर्शीहरुको भनाई छ । बा २१ च ५३०२ नम्बरको सेतो गाडी पल्टिएपछी उद्धार गर्न डोजर नै ल्याउनुपर्ने अवस्था सिर्जना भयो । सोही गाडी क्षती भएपनी चालक भने सकुशल रहेको छ । उक्त सडकमा प्राय दुर्घटना भइरहने गरेको स्थानीयहरुको भनाई छ । तथापि मर्मत तथा निर्माण कार्यमा भने सरोकारवालाको चासो नभएको गुनासो रहेको छ ।
जोरपाटि ओरालो, गोकार्णेश्वर नगरपालिका कार्यालय अगाडि बेशिगाउ, आत्तरखेल हुँदै गोकर्ण घुम्तीमा सवार मोटर साइकल तथा सानो गाडीहरु दैनिक जसो दुर्घटना हुने गरेको छ । सोही बाटोमा महिनामा दर्जनौं दुर्घटनाबाट शरिरिक तथा भौतिक क्षति समेत हुने गरेको सडक पीडितहरु बताउछन् ।
सडकको हरबिजोग आँखाको अगाडि देखिएपनी विकास र परिवर्तनको भाषण गर्दै हिड्ने जनप्रतिनिधिहरु भने मौन छन । सडक बाटो नै ज्यानमारा हुँदै गएपनि निर्वाचनका बेला जनतालाई विकास र परिवर्तनको सपना बाढ्दै् हिड्ने निर्वाचित प्रतिनिधिहरु मैचुप तैचुप गर्दै बस्नु जनताको भोटको अपमान भएको उनीहरुको भनाई छ ।
संघीय सरकर र स्थानीय तहविचको समन्वय प्रभावकारी नहुदा सडकको अवस्था लथालिङ्ग भएको छ । स्थानीय तहको निर्वाचन र प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारहरुले सडक बिस्तार तथा स्तरोन्नतिमा पहिलो प्राथमिकता दिने प्रतिबद्धता गरेका थिए । तर निर्वाचित भएर दुई वर्षभन्दा बढी समय बितेपनी सडकको हालत भने सवारी गुड्न त के मान्छे हिड्न समेत कठिनाइ स्थिति बनेको छ। उपत्यका सडक बिस्तारको आयोजना सहित सुन्दरीजलको बाटो निर्माणकार्य हुने भनिए पनि सडक छेउछाउका घरहरु भत्काउन स्थानीयलाई मुआविज़ा दिने कुराले नै अन्योल छाएको छ ।
बाग्मती परियोजना तथा निर्माणाधीन गोकर्ण सहिद पार्कको सवारी प्रवेशद्वारको अव्यवस्थित मर्मतले गोकर्ण घुम्तीमा बाटो जटिल बन्दै गएको छ। उक्त बाटो वर्षातको समय होस् या हिउदाको समय सर्वसाधारण र सवारी चालकलाई सास्ती हुँदै आएको छ । केही महिना अगाडि उक्त स्थानमा गाडी दुर्घटना हुँदा स्थानीयहरु जनप्रतिनिधि खोज्न हैरान भएको थियो । स्थानीयहरुले जनप्रतिनिधि कहाँ सुतेर बसेका छन टर्च बालेर खोज्ने बेला आयो भन्दै सामाजिक सन्जालमा समेत कुर्लिएका थिए । उक्त क्षेत्रको मेयरमा सन्तोष चालिसे र प्रतिनिधिसभातर्फ कृष्ण राई निर्वाचित छन । त्यस्तै प्रदेशतर्फ भने रामेश्वर फुयाल रहेका छन । फुयाल यसअघि त्यसै क्षेत्रको निर्वचित प्रतिनिधि सभा सदस्य समेत हुन ।
सासद फुयालले जनताको नजिक रहेर अश्वाशन दिएअनुरुप केही विकास गरेको मतदाताहरुको भनाई छ । सासद राई भने आफुले बोलेको वचन पूरा गराउन नसकिएको र जनतासंग समेत नजिक बन्न नचाहेको तर्क छ । त्यस्तै मेयर चालिसे पनि जनतालाई अश्वाशन दिन सिपालु रहेता पनि कार्यगत रुपमा प्रगति गराउन भने नसकिएको आरोप छ ।

