जेठ २९, चीन । दक्षिणी चीनमा मुसलधारे पानी पर्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने हजारौँ मानिस फसेको अधिकारीहरूले बताएका छन्।
वर्षाले सयौँ घरमा क्षति पुर्याउनुका साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली सखाप पारेको छ।
अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान गरिएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार वर्षाका कारण २० लाख मान्छे प्रभावित भएका छन भने सडक तथा पुलमा नराम्ररी क्षति पुगेको छ। ग्वाजो प्रान्तको एउटा शहर नै दुई मिटर पानीमा डुबेको छ।
मौसम पूर्वानुमानसम्बन्धी चिनियाँ निकायका अनुसार दक्षिणी प्रान्त जियाङ्ग्सी र हुनानमा जुन महिनायताकै सबैभन्दा बढी वर्षा भएको छ। नौवटा शहरमा बाढी पसेपछि जियाङ्ग्सी प्रान्तमा मात्रै डेढ लाख मानिसलाई अन्यत्र सारिएको छ। चाइना डेली पत्रिकाका अनुसार दक्षिण(पश्चिमी ग्वाङ्ग्सी प्रान्तमा २० हजारभन्दा बढी घरमा बिजुली आपूर्ति बन्द भएको छ।

