जेठ २२, एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले एकै खेलमा १३ खेलाडीलाई कारवाही गरेको छ । सोमबार सम्पन्न इंग्ल्यान्ड र पाकिस्तानसँगको खेलको क्रममा विभिन्न गल्ती गरेका १३ खेलाडीलाई कारवाही गरेको जनाएको छ । इंग्ल्यान्डबाट जोसन रोय र जोफ्रा आर्चर र पाकिस्तानको पुरै टिमलाई कारबाही गरिएको हो । पाकिस्तानका खेलाडीलाई सुस्त गतिको ओभर गतिमा तथा आर्चर र रोयलाई आचरसहिंता विपरित व्यवहार गरेको भन्दै कारवाही गरिएको हो ।
पाकिस्तानले निर्धारित समयभन्दा एक ओभर ढिला बलिङ गरेपछि कप्तान शरफराज अहमदलाई म्याच फिको २० प्रतिशत तथा अन्य खेलाडीको १० प्रतिशत जरिवाना काटिने जनाईएको छ । फकार जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज, सोएब मालिक, आशिफ अली, सादब खान, हसन अली, वहाब रियाज र मोहम्मद आमिर जरिवानामा परेका हुन ।
इंग्ल्यान्डका रोय र आर्चर दुवैको म्याच फिबाट १५–१५ प्रतिशत रकम काटिने छ । इंग्ल्यान्डका ओपनर जेसन रोयले १४ औं ओभरमा खराब फिल्डिङसँगै खेल भावना विपरित शब्द बोलेको एम्पायरले सुनेपछि कारवाहीमा परेका हुन । यस्तै २८ औं ओभरको चौथो बलमा एम्पायरले वाईड दिँदा आपत्ति जनाउँदा जोफ्रा आर्चर कारबाहीमा परेका हुन । उक्त खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई १४ रनले हराएको थियो ।

