जेठ २२, म्याग्दी । चौधौँ छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा अन्तरजातीय विवाह गरेका १५ दम्पती सम्मानित भएका छन । मङ्गलबार दिवसका अवसरामा जिल्लास्थित संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो ।
जातीय विभेद हटाउन अन्तरजातीय विवाहले समाजमा सकारात्क सन्देश फैलाउने हुँदा उनीहरुलाई सम्मानित गरिएको समितिले जनाएको छ । सम्मानका क्रममा समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिाकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, समितिका संयोजक बलबहादुर विश्वकर्मालगायतले अन्तरजातीय विवाह गरेका दम्पतीलाई अभिनन्दन गर्दै सम्मान गरेका हुन ।
पूर्व सभासद एवं नेकपा म्याग्दीका जिल्ला अध्यक्ष गोविन्द पौडेल, प्रमुख जिल्ला आधिकारी, नेपाली काङ्ग्रेस म्याग्दीका सचिव मीनबहादुर कार्कीलगायतले जातीय विभेद सामाजिक अपराध हुने भएकाले दोषीमाथि कानूनबमोजिम कारवाही हुनेमा जोड दिए । कानुनी रुपमा अन्तरजातिय विवाहलाई हटाइए पनि समाजमा अझैँ यसलाई व्यवहारमा नउतारिका प्रति उनीहरुले ध्यानाकर्षणसमेत गराएका छन ।

