जेठ २१, काठमाडौं । आज बेलुकादेखि देशका केही नदीहरुमा पानीको सतह बढ्ने भएकोले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन उद्धृत गर्दै गृह मन्त्रालयले सो कुरा जनाएको हो । बाढी बुलेटिनमा आज बेलुकादेखि भोलि बिहान ११ बजे सम्म देशका प्रमुख नदीहरु कन्काइ, कमला, पश्चिम राप्ति, बबई र कर्णालीलगायत यसका शाखा नदीहरुमा बहाव बढ्दो क्रममा हुने तथा भोलि बिहान ७ बजे सम्म सतर्कता तहभन्दा माथि हुने जनाइएको छ । केहीमा खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान गरिएको बुलेटिनमा उल्लेख छ । यस्तै देशका अन्य प्रमुख तथा साना नदीहरुमा वहाव बढ्दो रहने भएतापनि सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान गरिएको जनाइएको छ ।
भोलि दिउँसोसम्म देशका प्रमुख नदीहरु कन्काई, कमला, पश्चिम राप्ति, बबई र कर्णाली लगायत यसका शाखानदीहरु अधिकांशमा वहाव सतर्कता तह भन्दा माथि हुने, केहीमा खतरा तह सम्म पुग्न सक्ने र विस्तारै सतर्कता तह भन्दा तल हुने पूर्वानुमान गरिएको समेत बुलेटिनमा उल्लेख छ । पर्सिदेखि भने प्रमुख नदीहरु कन्काई, सप्तकोशी र यसका शाखा, कमला,बागमति,नारायणी र यसका शाखा, पश्चिम राप्ति, बबई, कर्णाली र यसका शाखा तथा महाकालीमा बहाव सामान्य रहने समेत विभागले जनाएको छ ।

