पूर्वी सुर्खेतमा विप्लवका कार्यकर्ताद्वारा बसमा आगजनी

जेठ १३, सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।

पोखराका तीन ठाउँमा शङ्कास्पद वस्तु 

पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराउनुभयो ।

ती शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ ।  यसैबीच, नेत्रविक्रम चन्द(विप्लव) समूहद्वारा आव्हान गरिएको नेपाल बन्दको प्रभाव पोखरामा परेको छ । सार्वजनिक यातायातका सवारीसाधन बिहानैदेखि गुडेका छैनन् र शैक्षिक संस्थामा पनि बन्द रहेको छ । बजारमा चियापसल खुला छन् भने अन्य व्यापारिक पसल बन्द छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुुसार कास्कीमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.