सगरमाथाको उचाइ नापेर फर्किएका टोलीई काठमाडौंमा स्वागत

जेठ १०, काठमाडौं । सगरमाथाको उचाइ नापेर फर्किएको सरकारी टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले शुक्रबार काठमाडौंमा स्वागत गरेकी छन् । सगरमाथाको उचाइ नापेर बिहीबार काठमाडौं फर्किएको टोलीलाई मन्त्री अर्यालले शुक्रबार स्वागत गरेकी हुन् ।

सरकारकातर्फबाट आफ्नै स्रोतसानधनमा सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको टोली जेठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो ।  मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्याल, मन्त्रालयका सचिव गोपीनाथ मैनाली, नापी विभागका महानिर्देशक प्रकाश जोशीलगायतले सगरमाथाको उचाइ मापनका निम्ती सगरमाथाको आरोहण गरेर फर्किएको प्रमुख नापी अधिकृत उपसचिव खिमलाल गौतम नेतृत्वको टोलीलाई फुलमाला र टिका लगाएर स्वागत गरेका छन् । “अहिलेसम्म सगरमाथाको उचाइ आफ्नै पहल तथा लगानीमा नेपाल सरकारले गरेको थिएन। विभिन्न देशहरूले विभिन्न समयमा गरेका थिए,” मन्त्री अर्यालले भनिन्, “यसपाली सरकारले आफ्नै स्रोतसाधनमा आफ्नै लगानीमा गरेको छ । यो हामी सबैका निम्ति गौरवको कुरा हो ।”

टोलीले उचाइ नाप्ने सम्पूर्ण प्राविधिक काम सकेको बताउँदै मन्त्री अर्यालले अबको ६ महिनाभित्र परिणाम प्राप्त भई सगरमाथाको वास्तविक उचाइ पुष्टि हुने बताइन् । टोली गएको चैत २७ गते सगरमाथाको उचाइ नाप्न प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री अर्यालको शुभकामना लिएर काठमाडौंबाट हिँडेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.