जेठ ८, गुलरिया । गत जेठ १ देखि ३ गतेसम्म भएको न्यायिक समिति र वार्ड नं ६ को अवलोकनलाई लिएर विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारहरूप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
गुलरिया नगरपालिकाले बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत न्यायिक समिति र वडा नं ६ को वार्षिक भ्रमणको रुपमा महेन्द्रनगरको महाकाली नगरपालिकामा भ्रमण गरिएको बताएको छ । तर, अन्य भ्रमणहरू भने नितान्त ब्यक्तिगत खर्चमा भएको जनाएको छ ।
सरकारी खर्चमा आफूहरुले कुनै भ्रमण नगरेको हुनाले नगरबासीमा भ्रम फैलाउने काम भइरहेको भन्दै गुलरिया नगरपालिकाले ध्यानाकर्ष गराएको हो । नगरपालिकाका उप–प्रमुख शुसिला गिरीले भन्नुभयो, ‘हामी नियम नुसार नै अवलोकन गर्नका लागि महाकाली नगरपालिका गएका हौं । त्यो भन्दा बढी कुनै सत्यता छैन । हाम्रो पनि ब्यक्तिगत जीवन छ ।’ उहाँले थप्नुभयो, ‘मिडियामा जुन समाचार छापिएको छ, त्यो सरासर गलत छ ।’
त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र पौडेलले आफूहरूले कार्यालयको नियम भित्र रहेरै अवलोकन गरेको बताउनुभयो ।

