जेठ ७, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् ।
कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत् प्राधिकरणभित्र भ्रष्टाचार भए–नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको पनि स्पष्ट पारे । मंगलबार संघीय संसदको सार्वजनिक लेखा समिति बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंकलाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएपछि उनले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका हुन् । कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भएँ भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराए । उनले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर काम अघि बढाइएको पनि स्पष्ट पारे । यता समितिका सदस्य एवम् सत्तारुढ नेकपाका सांसद मोदीले कार्यकारी निर्देशक घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको आरोप लगाए । उनले त्रिशूली जलविद्युत् आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो ? भनी प्रश्न पनि उठाए । सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दाबी गर्दै तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरे ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा टं«क लाइनबाट विद्युत् उपयोग गर्ने उद्योगीहरुबाट बक्यौता रकम असुली गर्ने पत्राचार गरेपछि त्यो कानुनसम्मत नभएको भन्दै उद्योगी व्यापारीहरुले पनि विरोध गर्दै आएका छन् । यता, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने नियम अनुसारनै तिर्नुपर्ने शुल्क तिर्न उद्योगी–व्यवसायीहरुलाई पत्राचार गरिएको स्पष्ट पारे ।
के हो मोदीको स्वार्थ ?
नेपाल विद्युत प्राधिकरणले मोरङको कटहरी क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन कटहरी सबस्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढी भयो । सुनसरीको दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ । यसले गर्दा दुहवीबाट विद्युत् लगी सबस्टेसन सञ्चालन (चार्ज) गर्न नसकिएको प्राधिकरणका विराटनगर शाखा प्रमुख राजीव सिंहले बताउनुभयो । ‘कटहरी औद्योगिक क्षेत्र पनि हो, अहिले त्यहाँ विद्युत आपूर्ति भइरहेको टंकिसिनुवारी सबस्टेसन थप लोड थान्न सक्ने अवस्थामा छैन’, सिंहले भन्नुभयो, ‘कटहरी सबस्टेसन तत्काल चार्ज गर्न सकेनौँ भने विराटनगरमा फोर्स लोडसेडिङ गर्नु पर्ने अवस्था छ ।’
स्थानीयको अवरोधका कारण सडकको छेउमा गाडिएको पोलमा समेत साढे तीन किलोमिटर तार तान्न सकिएको छैन । ग्रामथाम नेकपाका सांसद अमनलाल मोदीको निर्वाचन क्षेत्रमा पर्छ । मोदीले स्थानीयको मागलाई साथ दिँदै प्रसारण लाइनको तार तान्न दिएका छैनन् । प्रसारण लाइन निर्माण नसकिँदा कटहरी सबस्टेसन निर्माण सकिएर पनि प्राधिकरणले सञ्चालनमा ल्याउन सकेको छैन । प्राधिकरणले बस्ती छल्दै सडकै सडक प्रसारण लाइन लैजाने गरी रुट तय गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले केहीअघि तार तान्न दिन मोदीलाई आग्रह गर्नुभएको थियो । तर, मन्त्री पुनको आग्रहलाई समेत मोदीले मान्नु भएको छैन । त्यस क्षेत्रका उद्योगीले चुनावमा सहयोग नगरेको भन्दै मोदीले स्थानीयलाई उचालेको बताइन्छ । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले पटकपटक प्रयास गरिरहेको छ । सबस्टेसन सञ्चालनमा आएपछि गुणस्तरीय विद्युत र भोल्टेज सुधार हुने भएकाले त्यस क्षेत्रका उद्योगी व्यवसायीले पनि समस्या समाधानका लागि पहल गरिरहेका छन् । तर, मोदीकै कारण उनीहरुको प्रयास सफल भएको छैन ।

