जेठ ६, एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले छैटौं पटक पिचिचि अवार्ड जित्दै तेल्मो जर्रासँगको कीर्तिमान बराबरी बनाएका छन् ।
स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बन्न सफल बार्सिलोनाका कप्तान मेस्सीले सर्वाधिक गोलकर्ता बन्दै छैटौं पटक पिचिची अवार्ड जितेका हुन् । स्वर्गिय स्पेनिस फुटबलर जर्राले छैटौं पटक पिचिची अवार्ड जित्ने कीर्तिमान बनाएका थिए । मेस्सीले त्यो रेकर्ड बराबरी पारेका हुन् । मेस्सीले छैटौं पटक अवार्ड जित्दा टिम मेट लुइस स्वारेज र रियाल मड्रिडका करिम बेन्जिमालाई पछि पारे ।
मेस्सीले यो सिजन ला लिगामा ३४ खेलमा ३६ गोल गरे । १३ गोलका लागि पास उपलब्ध गराएका थिए । २१ गोल गरेका स्वारेज र बेन्जिमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । मेस्सीले यसअघि २००९–२०१०, २०११–२०१२, २०१२–२०१३, २०१६–२०१७ र २०१७–२०१८ को सिजनमा पनि पिचिची अवार्ड जितेका थिए ।

