गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा अवरोध

बैशाख ३१, भैरहवा । बुटवल उपमहानगरपालिकाले विभिन्न बहाना गर्दै दुई महिनादेखि नदीजन्य पदार्थ नदिएपछि बहुचर्चित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ।

सरकारले उच्च प्राथमिकता दिएर बनाउन लागेको यो विमानस्थल अन्तिम चरणमा पुग्न लागेको छ । तर यसैबेला कच्चा पदार्थ अभावले निर्माण रोकिन पुगेको हो । पछिल्लो समय चिनियाँ ठेकेदार कम्पनीलाई भुक्तानी नदिँदा निर्माण कार्य प्रभावित बनेको छ । उपमहानगरपालिकाले नदीजन्य पदार्थ दिन सम्झौता गरी राजस्व समेत बुझिसकेको छ  । उपमहानगरपालिकाले चाइनिज कम्पनीलाई आपूर्ति गर्ने स्थानीय आपूर्तिकर्ता स्वासम कन्सट्रक्सन प्रालिलाई प्रतिघनमिटर ६ रुपैयाँका दरले १७ हजार सात सय २७ घनमिटर नदीजन्य उत्खनन गर्न दिने सम्झौता गरेको थियो । सम्झौता र कार्यादेश समेत दिइसकेको उपमहानगरपालिकाले पछिल्लो समय उत्खनन गर्न नदिएको स्वासम कन्सट्रक्सन प्रालिका सञ्चालक प्रितेशराज पोखरेलले जानकारी दिए। उनले पटकपटक आग्रह गर्दा पनि उत्खनन गर्न नदिएपछि अहिले आफूले जम्मा गरेको रकम फिर्ताका लागि निवेदन दिएको बताए।

उनका अनुसार नदीजन्य पदार्थकै अभावमा अहिले विमानस्थलको काम प्रभावित हुन थालेको छ । धावनमार्ग, टर्मिनल भवन लगायत अन्य निर्माण कार्य नदीजन्य पदार्थकै अभावमा प्रभावित भएको उनले जानकारी दिए । विमानस्थलको मुटु मानिने धावनमार्ग निर्माणको अन्तिम तयारीमा रहेको अवस्थामा रकम अभावमा निर्माण कार्य सुस्त भएको छ । ठेकेदार कम्पनीसँग कामदारलाई तिर्ने पारिश्रमिक, इन्धन लगायत अन्य कच्चा पदार्थको अभाव भएको हुँदा कम साधनहरु मात्र निर्माण कार्यमा प्रयोग गरिएका छन् ।
–नागरिक दैनिक

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.