नव गठित समाजवादी पार्टी र राजपाबीच पुनः वार्ता शुरु

वैशाख ३०, काठमाडौँ । नव गठित समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच पुनः वार्ता शुरु भएको छ ।

तत्कालीन संघीय समाजवादी फोरम नेपालले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरी राजपा नेपालसँग वार्ताको प्रक्रिया शुरु गरेको थियो । दुवै दलबीच वार्ताका लागि चिठी आदान प्रदान भएको थियो । तर फोरम नेपालले राजपा नेपालसँग एकीकरण नगरी नयाँ शक्ति नेपालसँग पहिले एकीकरण गरेको छ । नयाँ शक्ति नेपालसँग एकीकरण हुनेक्रममा पनि तत्कालीन फोरम नेपालले राजपा नेपालसँग वार्ता गरेको थियो । तर राजपा नेपालले सरकारबाट बाहिरिने सर्त राखेपछि वार्ता प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।  नयाँ शक्ति र फोरम नेपालबीच एकीकरण भई समाजवादी पार्टी, नेपाल बनेपछि पुनः वार्ता समिति गठन गरेर छलफल शुरु भएको छ । वैशाख २५ गते बसेको समाजवादी पार्टी, नेपालको पदाधिकारी बैठकले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

समाजवादी पार्टी, नेपालका वार्ता समितिमा सदस्य समेत रहनु भएका महासचिव रामसहाय यादवले राजपा नेपालसँग छलफल भइरहेको बताउनुभयो । राजपा नेपालका नेताहरूसँग अनौपचारिक कुराकानी शुरु भएको र सकारात्मक रुपमा अगाडि बढेको बताउँदै उहाँले राजपा नेपाल पनि एकीकरणप्रति सकारात्मक रहेको जानकारी दिनुभयो । राजपा नेपालले राख्दै आएको सरकारबाट फिर्ता हुने सर्तमा लचिलो हुँदै गइरहेको दावी गर्दै महासचिव यादवले दुई दलबीच एकीकरण भइसकेपछि सरकारको बारेमा छलफल हुने फोरम नेपालको प्रस्तावमा राजपा नेपाल सकारात्मक भएको उहाँले बताउनुभयो ।

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले सरकारबाट बाहिरिनु पर्ने सर्तमा आफूहरु अडिग रहेको बताउनुभयो । राजपा नेपाल एकीकरणप्रति सकारात्मक रहेको, वार्ता र छलफलको माध्यमले त्यसलाई टुङ्गो लगाउने उहाँले बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.