बैशाख २९, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मिडिया काउन्सिल सम्बन्धि विधेयकको विरोध गरेको छ । नाफिजले ऐक्यबद्धता जारी गर्दै स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने कार्य भएको उल्लेख गरेको हो ।
विज्ञप्तिमा संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धि विधेयकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने व्यवस्था अघि सारिएको सन्दर्भमा संघ (नाफिज) को गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “समाचार लेखेकै आधारमा पत्रकारलाई जेल–नेल पठाउने कुत्सित नियतसहित संसदमा पुगेको विधेयकले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने मात्रै होइन, कालान्तरमा अभिव्यक्ति स्वतन्त्रतामाथि नै बन्देज लगाउँदै जाने नियत हामीले देखेका छौं ।” विज्ञप्तिमा नाफिजले स्वतन्त्र र मर्यादित प्रेसका पक्षमा रहेको तर प्रेसलाई नियमन गर्ने नाममा निर्माण गरिने प्रेस स्वतन्त्रता विरोधी कानून भने नस्वीकार्ने बताएको छ ।
विधेयकमा प्रस्तावित व्यवस्थाविरुद्ध नेपाल पत्रकार महासंघ लगायतका संघ–संस्थाले सुरु गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँँदै नाफिजले आफ्ना सम्पूर्ण सदस्यहरुलाई आन्दोलनमा सहभागीताका लागि आग्रह समेत गरेको छ ।

