वैशाख २९, सल्यान । छत्रेश्वरी गाउँपालिका ६ रामकाडामा आगलागीमा परि एकजनाको ज्यान गएको छ । आगो निभाउने क्रममा ५५ बर्षीया प्यान्टी बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आगोमा परेर सोही ठाउँका ४० वर्षीय खगेन्द्र बोहरा गम्भीर घाइते भएका छन । शुक्रबार बिहानदेखि सल्किएको आगो बीचमा रहेको सिमपानी गाउँ घेरेरे जंगल तर्फ फैलिएको छ ।आगोले सिमपानी गाउँका ८ घर जलेर नष्ट भएका छन । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय श्रीनगरको टोली, सशस्त्र प्रहरी र स्थानीयहरुले आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सल्यानको शारदा नगरपालिका ९ दुवेरीका ६३ वर्षीय गोवर्धन पुनको सामुदायिक वनमा भएको आगलागीमा परेर ज्यान गएको छ ।वैशाख २४ गते घरबाट निस्किएका पुन परिवारको सम्पर्कमा नआएपछि खोजी गर्दा जंगलमा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

