निबन्ध “एक प्रश्न”

लेकखः उमेश चापागाई

कुरूपता भित्रको सुन्दरताले मन्त्रमुग्ध बनाउँछ । जटिलता भित्रको सरलता उस्तै मुलायम लाग्छ । थकान भित्रको आरममा म अवर्णनीय आनन्द अनुभव गर्छु । भोकमा छुट्टै सन्तुष्टि भेट्टाउँछु । लेख्न खोज्दा अनायासै हराइदिने शब्दहरू खोज्दा हुने हैरानी अति नै रोमाञ्चक लाग्छ ।

जीवन्त भोगाइ मन पर्ने नै भयो । जीवन कहिलेकाही जीवहीन पनि बनिदिन्छ । जस्तो कि सुकेको काठ । खस्रो बालुवा । कठोर ढुङ्गा । एक कलाकारले काठमा प्राण भर्छ । अमूल्य सिर्जना जन्मिन्छ । एक सर्जकले वालुवा सिञ्चेर सपना फलाउँछ । कालिगडले आफ्नो सीपले ढुङ्गामा देवता जन्माउँछ । पोखरीझैँ जम्न खोज्ने जिन्दगीलाई म आशाले चलायमान बनाउन खोज्छु । उत्तेजनाले भुँमरी ल्याउन खोज्छ । म धैर्यताको बाधले सम्हालेर रोक्छु छालहरू । आफ्नै गोरेटोमा आफ्नै गतिले म लम्किरहन्छु । आफ्नो विश्वास आफ्नै आर्जन मात्र हुने । आफ्नो परीक्षा लिन मन लाग्छ कहिलेकाही । आफ्नै हठको, धैर्यताको । आफ्नै स्वभावको । मन लाग्छ धेरै पटक । आफूलाई जाँच्ने क्रममा निरव साँझ झोलामा एक जोर कपडा कोचेर त्रिशुलीको बगरमा पुगूँ । सुस्ताउँदै बग्ने नदीले संसारका विरह बगाउन नसकेझैँ लाग्छ । किनारामा बसेर अपाङ्ग हातले गिटी कुटिरहेका एक बुढो जीवन देख्दा कुन्नी के अनुभव गर्छु । जीवनको मोह साँच्चै मोहक नै हुँदोरहेछ । पानी बगाएर पाखाहरूमा बजारिदै, खोँचहरूमा खस्ने त्रिशुली र ती बुढा बा संसारका तिकडम नसम्झेर गटीको थुप्रो अग्ल्याइरहन्छन् – आत्मविश्वासको पहरो चढिरहन्छन् ।

रातदिन रक्सी धोकेर झगडा गर्न अभ्यस्त चार छोराहरू देखेर पनि अर्का जीवन नायक जीवनसँग फिटिक्कै हार मान्दैनन् । छालाका जुत्ता सिलाएरै काटेका जीवनका वसन्त टाल्न अभिशप्त उनी हाँसेरै दिवंगत जीवन संगी सम्झन्छन् । पच्चीस वर्षे छोरालाई बुहारी ल्याउने मेसो मिलाउन बिहानैबाट नदी बग्छ बग्दैन कुन्नी ? उनी जान्दैनन् । तर, सिक्काहरूबाटै लाख बन्ने कुरामा विश्वस्त छन् । यही एक जिम्मेवारी वा रहर पूरा गर्न उनी दिनभर काम गर्छन् । राति त्रिशुलीको सुसाइ सुन्दासुन्दै निदाउँछन् । बिहान उही सुसाइ सुनेरै ब्यूझन्छन् । त्रिशुली र उनको जीवन एक अर्काका पर्याय लाग्छन् ।
मन एकदमै बलियो हुन्छ मान्छेको । तर मन रहर चाहिँ होइन । मनले आफैँसँग प्रश्न गर्छ साँच्चै तँ के गर्न सक्छस् ? उत्तर खोज्न अन्नपूर्ण हिमालको फेदीतिर पुग्छु । केही उत्तर भेटेझैँ लाग्छ । भन्छु पसिना बगाउन सक्छु । भारी बोकेर निरन्तर दश घण्टा हिँड्न सक्छु । भोक खप्न सक्छु । रातभर नसुतेर अर्कोदिन तरोताजा देखिन सक्छु । आफ्नो प्रिय मान्छेलाई गाड्न आफैँ चिहान खन्न सक्छु । माटो सोहोरेर आफै पुर्न सक्छु । बिहान हुँदा उदाउँदो घामजस्तै कुनै आलस्यबिना मस्त हाँस्न सक्छु ।

जान्दिन भन्न लाज लाग्दैन । सिक्नुको आनन्द त हुने नै भो । सिकाइ अजीवकै हो । यसले कहिले पुशपतिनाथको मन्दिरमा पुर्याएर छोडिदिन्छ । धुनी बालेर बस्ने नाङ्गा साधुहरू सबैभन्दा सुन्दर देख्छु । नङ्नता सधैभर अश्लीलता होइन भन्ने बोध हुन्छ । नग्नताको बालकको निर्दोषपना देख्छु । मन प्रफुल्ल हुन्छ । रहस्य सुन्दर लाग्छ । सुन्दरता रहस्य हो ठान्छु । धर्म कमाउन मन्दिर गैरहनु पर्दैन । जीवनमा खासै परोपकार गरिएको पनि छैन । त त कसैको कुभलो नै जानीजानी । भगवान छन् या छैनन् सोच्न जरुरी लाग्दैन ।  भगवानले मान्छे बनाए या मान्छेले भगवान बहस गर्दिन । जसले जे सोचे, विश्वास गरे पनि स्वतन्त्र छन् । यो व्यक्तिगत छनौटको कुरा भयो । मन्दिर जान्छु । गैरहन्छु बारम्बार । रातभरि उभिएरैै कयौ रात बिताइदिन्छु म मन्दिर अगाडि । बिताएको छु पनि । केही गुमाएको छैन यसरी । प्राप्तीको हिसाब गर्दिन । थाहा छ जीवन गणित मात्र होइन । हरेक कुराको नाफा घाटा मात्र पनि त होइन जीवन । उसो भए किन हरेक कुरामा कार्यकारण सम्बन्ध केलाइरहने ?

सत्य वास्तवमा सत्य होइन । सत्यहरू छन् । सत्य सत्य होइन । झुठ सत्य हो । विरोधाभाष सत्य हो । वर्डस्वर्थ भन्छन् – बालक मान्छेको बाबु हो । यो विरोधाभाषको अत्युत्तम उदाहरण लाग्छ । जीवन विरोधाभाषको पुञ्ज हो । सत्य र झुटको जोड । लय हो जीवन । यो लयहीनता हो । जीवनको सुरुवात जन्म हो । मृत्यु सुरुवात हुनसक्छ जीवनको । म सत्य होइन । म झुट होइन । म सत्य हुँ । म झुट पनि हुँ । म जीवन हुँ । मृत्यु पनि हुँ । हरेक जीवनमा मृत्यु छ । हरेक मृत्युमा जीवन भेटिन्छ । मृत्यु र जीवन विरोधाभाष हुन । परिपूरक हुन् । तसर्थ सत्य हुन् ।  वृद्ध बालक बन्छ । बालकमा प्रौढता भेटिन सक्छ । जानकारहरू ज्ञान बाँडेको भ्रममा बाँच्छन् । ज्ञानीहरू चुपचाप बस्छन् । हरेक पल शब्दहरू कलमको टुप्पोमा अड्किएर आत्महत्या गर्न विवश छन् । यतिबेला । लेखकहरू लेख्छन् । आफ्ना सिर्जनामा बाँच्छन् । उहाँ ज्ञानी हरू सगरमाथाको उचाइ जानेर ८८४८ मिटर नै अगिलन खोज्छन् । बुद्धिजीविहरू वुद्धि नै खान्छन् र पचाउँछन् बुद्धि नै । बुद्धि नै निल्छन् र ओकल्छन् पनि ।

सगरमाथाको उचाइ र सागरको गहिराई थाहा पाउन ज्ञानी भैरहनु पर्दैन भनी बुझ्नलाई ज्ञानी बन्नै पर्दैन । तर बुद्ध बन्नलाई बुद्ध नै बन्नुपर्छ । बुद्धले भनेका कुरा सम्झदैमा बुद्ध बन्ने भए यहाँ हरेक गैँडाहरूमा बुद्धहरू भेटिन्थे । हरेक भीडहरूमा बुद्धहरू ठोकिन आइपुग्थे ।  सोचाइको सीमाना हुन्न । स्वतन्त्रताको सीमाना हुनुहुन्न । जीवन जीवन जस्तै बन्नुपर्छ । म लेखक होइन । लेख्दैमा कोही लेखक बनिहाल्दैन । ज्ञानीले लेख्दैन । लेख्नेहरू ज्ञानी नै पनि होइनन् । ज्ञान र अज्ञान बीच, उज्यालो र अँध्यारो बीच जन्म मृत्यु बीच दोसाधमा उभिएर आफैंलाई सोेध्न पाएँ ! साच्ची म को हूँ ? उत्तरभन्दा प्रश्न नै प्रिय लाग्छ । म उत्तर नपर्खेरै पर्खिरहन्छु । साभारः सहकार्य मासिक पत्रिका

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.