वैशाख २०, भक्तपुर । भक्तपुर प्रहरीले बाघको छाला र भालुको पित्तसहित पाँच जनालाई पक्राउ परेका छन । बुधबार साँझ भक्तपुरको सूर्यविनायक चोकमा शकांस्पद तरिकाले हिँडिरहेको अवस्थामा जाँच गर्दा उनीहरूलाई दुई थान बाघको छाला र करिव ७५ ग्राम भालुको पित्तसहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी गाउँपालिका ८ घर भई हाल ललितपुर चापागाउँ बस्ने ४० वर्षीय आनन्द तामाङ, ओखलढुंगा चिसंखु घर भई हाल काठमाडाैं बौद्ध बस्ने २४ वर्षीय मनोज कार्की, सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका १२ का ३१ वर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलन्जोर ७ का ३५ वर्षीय रत्नबहादुर माझी र ३४ वर्षफय बिष्णुबहादुर माझी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतिरमण पोखरेलले जानकारी दिए।
“जङ्गली जनावरको छाला र पित्त बेचबिखन गर्ने उद्देश्यले हिँडिरहेका उनीहरुको गतिविधि शङ्का लागेपछि जाँच गर्दा पक्राउ गरिएको हो,” प्रहरी नायब उपरीक्षक पोखरेलले भने । पक्राउ परेका पाँचै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको पाेखरेलले जानकारी दिए ।

