बैशाख १६, दाङ । तुलसीपुर उपमहानगरपालिका दाङले राज्यकोषबाट सेवा सुविधा लिने कर्मचारीलाई आफ्ना छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ ।
राज्यकोषबाट तलब र भत्ता खाने र निजी बोर्डिङमा पढाउने परिपाटीको अन्त्यका लागि नियम लागु गरिएको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । नगरपालिकाले अबदेखि अनिवार्य रुपमै सामुदायिक विद्यालयहरुमा पढाउनुपर्ने शिक्षा शाखाका स्रोतव्यक्ति मुकुन्द रिजालले जानकारी दिए । उपमहानगर कार्यपालिकाको बैठकले सरकारी सेवा सुविधा लिने शिक्षक, निजामती कर्मचारी, वकिल, प्रहरीलगायतका कर्मचारीहरुले आफ्ना छोराछोरी आनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको उनले बताए ।
यसै शैक्षिक सत्रदेखि नै यो निर्णय कार्यान्वयन हुने नगरपालिकाले जनाएको छ । नियम विपरीत आफ्ना छोराछोरीलाई संस्थागत विद्यालयमा पढाए कारवाही गरिने शिक्षा महाशाखाले जनाएको छ ।

