बैशाख ११, काठमाडौँ । पछिल्लो समय विश्वभर सादा खाना खाने प्रचलन बढ्दै गएको हुँदा मानिसहरु पिरोबाट टाढा रहन थालेका छन् । स्वास्थ्यबारे बढी ख्याल राख्ने प्रवृत्ति बढ्दै गएकाले मानिसहरुले मसलाबिनाको खाना रुचाउन थालेको बताइन्छ । यस्तोमा स्वादलाई बढी प्राथमिकता दिइँदै खुर्सानी र पिरो अमिलो बढी खानेहरुका लागि एक नयाँ अनुसन्धान खुसीको खबर साबित हुने बताइएको छ । किनकि वास्तवमा पिरो खानुले हाम्रो स्वास्थ्यलाई हानि गर्ने होइन उल्टै फाइदा पुर्याउने विज्ञहरुको भनाइ छ ।
धेरै पिरो खाँदै गर्दा कतिपय अवस्थामा हाम्रो नाक बग्ने, आँसु आउने अनि मुखबाट पानी निस्किने गर्दछ । र हामीले महसुस नगरेपनि हाम्रो आन्द्रा र पेटभित्रका विभिन्न अङ्गहरुले पनि पिरोलाई पखाल्न अत्यधिक मात्रामा तरल पदार्थहरुको उत्पादन वृद्धि गर्न थाल्ने डाक्टर ब्रेट कमर बताउँछन् । जुन हाम्रो स्वास्थ्य र शरीरका लागि अत्यन्तै लाभदायक हुने उनको भनाइ छ । उनी भन्छन्, “यसकारण नै धेरै पिरो खाँदा कतिपय अवस्थामा पेटले अत्यधिक तरल पदार्थ उत्पादन गर्ने गर्दा मानिसहरुलाई पखाला लाग्ने, पेट दुख्ने लगायत हुन्छ ।” वास्तवमा पिरोमा हुने ‘क्यापसेइसिन’ नामक एक प्रकारको तत्वका कारण नै खुर्सानी खाँदा हाम्रो नाक बग्ने गरेको हो । क्यापसेइसिनका शारीरिक र चिकित्सकीय प्रभावबारे गरिएको एक अनुसन्धानमा यसले एक विशिष्ट प्रकारको ‘पेन रिसेप्टर’ लाई बन्द गराइ सेलहरुलाई उत्तेजित गर्ने गरेको पाइएको थियो ।
“त्यही उत्तेजनाले हामीलाई पिरो खाँदा पोलेको जस्तो र दुखाइ महसुस गराउँदछ भने हाम्रो तापमान बढाउने र रक्तकोषहरुलाई पातलो बनाउनुको साथै छालामा लगाएमा रातो हुने र पोल्ने गर्दछ,” युनिभर्सिटी कलेज अफ लन्डनका प्रोफेसर एन्थोनी डिकेन्सन बताउँछन् ।
खाँदा मात्र नभएर छालामा लगाउँदा पनि क्यापसेइसिनले यसरी नै काम गर्ने गर्दछ । त्यसैले पनि कतिपय जोर्नी दुख्ने र ‘मसल–पेन’ बाट राहत दिलाउने क्रिमहरुमा यसको प्रयोग भएको पाइन्छ । यसरी क्यापसेइसिनको असर कम हुँदै गएपछि प्रभावित पेन रिसेप्टर असंवेदनशील हुन थाल्छ जसले तत्कालै दुखाइ कम गराउन सक्ने डिकेन्सनको भनाइ छ । त्यस्तै क्यापसेइसिनकै उच्च डोज भएको ‘प्याच’ पनि नसाहरुको दुखाइ, मड्किएको आदिका लागि प्रयोग गर्ने गरिएको छ जसले हप्तौँसम्म दुखाइमुक्त गराउन सक्ने उनी बताउँछन् ।
यसरी दुखाइबाट राहत दिलाउनुका साथै पिरोका अरु पनि अनगिन्ती फाइदाहरु छन् । चीनमा गरिएको एक अध्ययनमा क्यापसेइसनयुक्त पिरो खानाले मृत्युदर कम गराउन सक्ने दाबी गरिएको छ । किनकि क्यापसेइसनले मुटु र पाचन प्रणालीलाई राम्रोसँग काम गर्न मद्दत गर्ने गर्दछ । त्यस्तै अन्य अनुसन्धानकर्ताहरुले पनि यसअघि क्यापसेइसिनले क्यान्सरबाट जोगाउने स्वस्थ सेललाई सक्रिय गर्ने गरेको सम्बन्धी प्रमाण फेला पारेका थिए । त्यसैगरी यसले हाम्रो कमरको भाग र मुटुलाई सुरक्षित राख्ने कुरा पनि पुष्टि गरिएको छ । २०१७ मा गरिएको एक रिभ्युले पनि क्यापसेइसनले मोटोपना–विरोधी प्रभाव पार्ने देखाएको थियो । त्यस्तै २०१५ को अध्ययनमा भने क्यापसेइसिनको सेवनले हाम्रो अङ्ग वरपर जम्ने बोसो हटाउने गरेको पत्ता लगाइएको थियो जसलाई थु्प्रै रोगको कारण मानिन्छ । यसैगरी ३६ जना व्यक्तिहरुमा गरिएको अर्को एउटा अध्ययनले पनि क्यापसेइसिनलाई हाम्रो डायटमा समावेश गराउँदा मुटुको काममा सुधार ल्याउने र रगतको बहाव स्वस्थ हुने गरेको पाइएको थियो ।
तर अझैपनि मान्छेले असहज महसुस गराउने पिरो खानेकुरा किन बढी मन पराउँछन् भन्नेबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन । मनोविश्लेषक प्रोफेसर पल रोजिनका अनुसार केही मानिसहरुले जोखिमयुक्त र कठिन काम गर्नमा रमाइलो मान्ने गरेकाले नै उनीहरुलाई पिरो खान मज्जा लाग्ने गर्दछ । त्यस्तै यसले मान्छेलाई धैर्य धारण गर्न र जटिल परिस्थितिमा लड्न सिकाउने गरेको पनि बताइएको छ । एजेन्सी । टाइमबाट

