नेकपाको ७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम टुंग्याईयो , सूची सोमबार सार्वजनिक गरिने

बैशाख  ८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ जिल्ला कमिटीका अध्यक्ष र सचिवको  टुंगो लगाएको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।  आइतबार बिहान नेकपाका शीर्ष चार नेताले गरेको गृहकार्यपछि साँझ सचिवालय बैठक बसेको थियो।

‘लामो समयसम्म संगठनको एकीकरण प्रक्रिया टुंगिन नसकेको अवस्थामा ७७ जिल्लाका अध्यक्ष र सचिवको बारेमा टुंगो लगाएको छ’, बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘सूची भोलि सार्वजनिक गरिने छ।’

त्यसैगरी नेकपाले केही दिनभित्रै पोलिटब्युरोको गठन गरी केन्द्रीय समिति सदस्यको कार्यविभाजन गर्ने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। नेकपा सचिवालय बैठकले सोमबार कम्युनिस्ट पार्टीको स्थापना दिवस भव्य मनाउने निर्णयसमेत गरेको छ।  ‘२००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भएर ७० वर्ष पूरा गरेर भोलि ७१ वर्ष प्रवेश गर्दैछ’, प्रवक्ता श्रेष्ठले भने, ‘७१ औं पार्टी स्थापना दिवसमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।’

सोही कार्यक्रममार्फत् ७७ जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.