बैशाख ५, काठमाडौं । उपत्यकाका अब ट्याक्सीलाई एप्समार्फत बोलाउन सकिने भएको छ। उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले प्रविधिको बढ्दो प्रयोगलाई अंगिकार गर्दै अर्को सातादेखि मोबाइल एप्सबाटै सेवा दिन लागेकाे हाे ।
समाजले मोबाइल एप्स ‘इजि ट्याक्सी नेपाल’ नामको एप्स बैशाखको दोस्रो साताबाट सञ्चालनमा ल्याउने जनाएको छ। समाजका अध्यक्ष सानु पुर्वाछानेका अनुसार शुरुमा एक सय वटा ट्याक्सीमा परीक्षण गरिने र त्यसपछि सबै ट्याक्सीलाई एप्समा आबद्ध गराइने छ ।
समाजले हालको ट्याक्सी भाडा दरले ट्याक्सी सेवा संचालन गर्न कठिन भएकाे भन्दै ‘इजि ट्याक्सी नेपाल’ एप्स सञ्चालनमा ल्याउन लागेको हो । उक्त एप्समा ट्याक्सी भाडा दर पनि समेटीने बताइएकाे छ ।
यसले उपभाेक्ताहरूलाई नकै सहज हुने बताइएकाे छ । चालकहरु भनेको ठाउँमा जान नमान्ने, चर्को मूल्य माग्ने, मिटरमा जान नमान्ने जस्ता समस्या हटिने देखिएकाे छ ।
एप्सबाट सेवा लिन यात्रुले गुगल प्ले स्टोर वा एप्पल स्टोरबाट एप्स डाउनलोड गरेर दर्ता गर्नुपर्नेछ। त्यसपछि यात्रुले ‘लग इन’ गरेर आफू बसेको स्थानदेखि जाने ठाउँ तय गर्नुपर्नेछ। त्यसपछि नजिक भएको ट्याक्सीले ‘एसेप्ट’ गरेपछि फोन गर्न सकिने अध्यक्ष छानेले बताउनुभयाे ।
‘इजी ट्याक्सी नेपाल’ एप्समार्फत यात्रुले लगइन गरेर अनुरोध गरेको ५ मिनेटभित्रै यात्रुले ट्याक्सी सेवा प्राप्त गर्ने अध्यक्ष छानेले बताउनुभयाे । अध्यक्ष छानेले भने, ‘नेपालमा ट्याक्सी र चालकलाई निकै हेप्ने गरिन्छ तर हामी पनि यही समाजका नागरिक हौँ, त्यसैले हामीले यात्रुको सुविधालाई ध्यानमा दिँदै प्रविधि मैत्री ट्याक्सी सेवा सञ्चालन गर्न लागेका हौँ ।’
हालको लागि यात्रुले सो एप्समा लगइन गरेर यात्रा गर्दा नगदमा नै भुक्तानी गर्न सक्नेछ भने छिटै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधा आउने समाजले जनाएकाे छ ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले ट्याक्सी सेवालाई नकारात्मकरुपमा मात्र हेर्ने गरिएको हुँदा प्रविधिको आधारमा सेवा दिएर यात्रुलाई सुविधा दिँदै नयाँ प्रयास गर्न लागिएको बताएको छ ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तान (तामाङ), ले काठमाडौंको ट्याक्सीसिवालाई भरपर्दो, यात्रु मैत्री र प्रविधियुक्त बनाएर नयाँ ढङ्गले अगाडि जाने योजनासाथ एप्स सञ्चालन गरेको बताउनुभयाे ।
‘पुरानो तरिकाले यात्रुलाई सेवा दिनेभन्दा पनि इजीट्याक्सीनेपाल एप्समार्फत पारदर्शिरुपमा सेवा दिँदा हाम्रो पनि सम्मान हुने र यात्रु पनि खुसी हुने विश्वास लिएका छौँ,’ महासचिव मोक्तानले भन्नुभयाे ।
इजी ट्याक्सी नेपाल एप्समा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका सबै सदस्य चालकहरू दर्ता हुनेछन भने यात्रुले दिउँसो र राती दुवै सिफ्टमा सेवा प्राप्त गर्नेछन । त्यसैगरि यो एप्समा आबद्ध भएका चालक र यो एप्समार्फत सेवा लिने यात्रु दुवैको ५ लाख रुपैयाँको बिमा गरिएको सेवा सामाजले जनाएकाे छ ।
काठमाडौं उपत्यकाभर आफ्नो सेवा सञ्चालन गरिरहेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज विसं। २०७५ सालदेखि संगठितरुपमा सक्रिय रहेको छ । यसले ट्याक्सीसिवालाई बिकृतीमुक्त बनाउने, चालकहरूलाई जिम्मेवार बनाउने र ट्याक्सीसिवालाई भरपर्दो र विश्वसनीय बनाउन यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ट्याक्सी धनी, ट्याक्सी चालक र नागरिक समाजसँगको सहकार्यमा विभिन्न कार्यक्रम तथा गतिविधिहरू गर्दै आएको छ । अहिले काठमाडाैं उपत्यकामा ५ हजारभन्दा धेरै ट्याक्सी आवद्ध रहेको उहाँका दाबी छ ।

