प्रधानमन्त्रीद्वारा भेरी बबई आयोजना सुरुङको ब्रेक–थ्रु

बैशाख ३, काठमाडौं । भेरी बबई बहुउद्देश्यीय आयोजनाको सुरूङ खनेर सकिएको छ ।

नेपालमै पहिलोपटक मेसिनबाट खनिएको उक्त सुरूङको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ब्रेकथ्रु गरेका छन्। बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ र ४६ मेगावाट बिजुली उत्पादन गर्ने बहुउद्देश्यीय आयोजनाको सुरूङ खनेर सकिएको हो । बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा पुगेको हो। २०७४ कात्तिक मसान्तदेखि टनेल बोरिङ मेसिन ९टिबिएम० ले सुरूङ खन्न थालिएको थियो। सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि ९कोभेक० ले टिबिएमबाट सुरूङ खनेर सम्झौताभन्दा एक वर्ष अघि नै काम सम्पन्न गरेको हो।

सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरूङ खन्ने अवधि २०७६ चैत १५ सम्म थियो। योजनाको सुरुङ खन्ने काम सकिए पनि त्यसका लागि आवश्यक अन्य पूर्वाधार निर्माणको काम सुरू नै भएको छैन। सिँचाइका लागि चाहिने ब्यारेजको काम पनि थालिएको छैन। त्यस्तै हेडवर्कको पनि काम सुरू भएको छैन।

४६ मेगावाट बिजुली पनि उत्पादन गरिने बताइएको यो आयोजनामा त्यसको काम पनि शुरु भएको छैन।सुरुवाती लक्ष्यअनुसार काम भएको भए यो आयोजना २०७७ सालमै सम्पन्न हुने थियो। तर हेडवर्क, ग्यारेज र पावरहाउसको काम सुरू नै नहुँदा २०८० सालसम्म लम्बिने भएको छ । सुरूमा १६ अर्बमा बनाउने भनिएको आयोजनाको लागत अहिले बढेर ३६ अर्ब पुगेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.