चैत २७ , तेह्रथुम। पाँचथरको कुम्मायक गाउँपालिका अन्र्तगत सुख्खाग्रस्त क्षेत्रका ३१ सय घरधुरीलाई लक्षित गरि सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । २०७३ सालबाट सुरु गरिएको योजनाको काम अन्तिम चरणमा पुगेकोे आयोजनाले जनाएको छ ।
आयोजनाको मुख्य पाईपलाइन र बितरण लाइनको काम प्रेरा–स्वामीनारायण जेभीले गर्दै आएको छ । बितरण लाईन र मुख्य पाइपलाइनको काम एकै साथ अघिबढाएको निर्माण कम्पनीले १० प्रतिशत मात्रै काम गर्न बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ । आयोजनाको काम तिव्रगतीमा चलेको र चाडै आयोजना सम्पन्न भई खानेपानी उपभोग गर्न पाईनेमा स्थानीयहरु बिश्वस्त रहेको स्थानीय रमेश थापाले बताउनुभयो ।
निर्माण कम्पनीले कुल ५१ करोड ३० लाख, ५६ हजार लागतमा आयोजनाको काम गर्दै आएको छ । उपभोक्ता समितिले जनश्रमदान वापतको ९ प्रतिशत कुल ३६ किलोमिटर पाइपलाइनको श्रमदान गर्नुपर्ने हुन्छ । सोही जनश्रमदान वापतको प्रतिघरधुरी ३ हजारको दरले रकम संकलन गर्दै आएको छ । उपभोक्ता समितिले ३ हजारको दरले सेवाक्षेत्र भित्रका ३ हजार ४३ घरधुरीबाट रकम संकलन गरिहेको छ । खानेपानी योजना सञ्चालन हुदा पानीको लागी आधारातमा उठेर कुवा तथा पधेँरो खोज्नुपर्ने समस्याबाट हजारौ स्थानीयवासीले मुक्ती पाउने स्थानीय यसोदा लिम्बुले बताउनुभयो ।
तिन बर्ष भित्र पुरा गर्नुपर्ने आयोजनाको काम २०७५ साल भरिमा पुरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कुम्मायायक गाउपालिकाको यासोक,रानिगाउ र स्याबारुम्बामा खानेपानीको चरम समस्या रहेको छ । आयोजनाको दुई चरणको मूख्य पाइपलाइन र बितरण लाईनको काम प्रेरा– स्वामीनारायण जेभी र कन्काइ–महादेव सिम्तीले गर्दै आएको छ ।

