सामुदायिक विद्यालय सुधार्नका लागि पारदर्शिता अनिवार्य- प्रदेश सांसद फुँयाल

प्रारम्भ खबर ।
चैत २०, काठमाडौ । काठमाडौ क्षेत्र न. २ बाट निर्वाचित प्रदेश सांसद मणिराम फुँयालले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन पारदर्शिता  हुन आवश्यक रहेको बताएका छन । सांसद फुँयालले सरकारी तथा सामुदायिक शैक्षिक सस्थाप्रती अभिभावक र शिक्षहरुकै सोचमा सकारात्मक भएमा मात्र गुणस्तरमा  परिवर्तन आउने धारणा राखेका छन ।

तिनै सांसदले आफू विगत सरकारी विद्यालयमा काम गरेको अनुभवलाई केलाउदै सरकार र सम्बन्धित सरोकारवालालाई सुझाव दिएका छन । उनले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार्न शिक्षकहरुमै इच्छाशक्ति हुन आवश्यक रहेको बताएका छन । सामाजिक उत्तरदायित्व र राज्यले पत्याएको व्यक्ति भएकाले शिक्षकहरुलाई उदाहरणीय व्यक्तिको रुपमा चिनाउने र असल बन्ने प्रयास गर्न सुझाव दिएका छन । शिक्षक राजनीति रुपमा सचेत हुनुपर्छ , तर राजनीतिका कारण विद्यालयको नियमित काममा बाधा अड्चन पु¥याउने काम, पढाउँदै नपढाइकन तलब बुझ्ने, खेताला शिक्षक राखेर राजनीति गर्ने काम भने गर्नु हुन्न । एउटा कुनै पार्टीसँग निकटता छ भने शिक्षकले आफ्नो व्यक्तिगत स्वार्थका लागि भन्दा संस्थागत स्वार्थ पूर्ति गर्नका लागि उपयोग गर्नुपर्छ । तर शिक्षकहरुले त्यो खुबीलाई उपयोग गर्नुको सट्टा दलले शिक्षकलाई उपयोग गरिरहेका छन् । त्यसो भएसम्म शिक्षकप्रति हेर्ने दृष्टिकोणमा बद्लाव आउँदैन उनको तर्क छ ।

समाजका सबैभन्दा जान्ने / बुझ्ने वर्ग भनेकै शिक्षक हो, शिक्षकले राजनीति गर्नैपर्छ तर आफ्नो पेशागत मर्यादा नै भुलेर राजनीति गर्नु हुन्न । अर्को शिक्षक भनेको एक व्यक्ति मात्र होइन, एक सिंगो समुदाय हो, वर्ग हो भन्ने पनि बुझ्नु जरुरी छ । एक शिक्षकको गल्तीले सारा शिक्षकमाथि आक्षेप, आरोप र दाग लाग्ने गरेको छ, यसैले शिक्षकले यो कुरामा निक्कै ख्याल राख्नुपर्छ । सबैको साझा चौतारी हो विद्यालय । हामी शिक्षक हुनुभन्दा अघि पनि थियो विद्यालय, भोलि पनि रहन्छ, तर, आफूले जतिञ्जेल त्यहाँ काम गरिन्छ, त्यतिञ्जेल राम्रो गरौं भन्ने भावनाले काम गरे विद्यालय सप्रन्छ । किन केही राम्रो काम नगरौं, किन नराम्रो हुन दिउँ ? भन्ने प्रश्न गरेर शिक्षकहरु अघि नबढेसम्म अभिभावकको मन जित्न सकिन्न, अभिभावकको मन नजितेसम्म सरकारी स्कुलको भविष्य अन्योलपूर्ण हुन्छ । त्यो चेतना प्रत्येक शिक्षकमा आउनुपर्छ । गरौं भन्ने भावना भइसकेपछि त त्यहाँ परिवर्तन त स्वभाविक रुपमा हुन्छ ।

सरकारी विद्यालय विग्रिनु अर्थात् विद्यार्थी संख्या कम हुनुको अदृष्य कारण भनेको पारदर्शिताको अभाव हो । टीमवर्क नभएको विद्यालयको स्थिति स्वभावतः नाजुक हुन्छ । अतः विद्यालय सुधार्नका लागि पारदर्शिता पहिलो सर्त हो ।

विद्यालयलाई हेर्ने दृस्ठिकोणमा परिवर्तन आउनुपर्छ:

एउटै संस्थाको कुनै पनि विषयबारेमा पारदर्शिता भएन भने शंकैशंका हुन्छ, शंका भएपछि विग्रह हुन्छ, विद्रोह हुन्छ र अन्ततः नराम्रो परिणाम निस्किन्छ, त्यसको असर विद्यालयमै पर्छ । विद्यालय भनेको सबैको छाता हो, यो छातामा सबै अटाउने वातावरण बनाउनुपर्छ । त्यसका लागि प्रअ, विव्यसका पदाधिकारीले प्रभावकारी ढंगले भूमिका खेल्नुपर्छ ।समुदायको योगदान, समुदायलाई विद्यालय मेरो पनि हो भन्ने अपनत्व बोध गराउनु पर्छ, काम गर्ने शिक्षक कर्मचारीहरुमा पनि टीम वर्क हुनुपर्छ । विद्यालयमा रहेका शिक्षकहरुबीच सहकार्य, सद्भाव, प्रेम, अनिवार्य चाहिन्छ । विद्यार्थीहरुलाई अहिलेको बदलिएको कालक्रमसँग कसरी साक्षात्कार गराउने, युगले खोजेको जनशक्ति उत्पादन गर्ने काममा शिक्षक लाग्नुपर्छ । अहिलेको नयाँ आवश्यकता, अभिभावकका बदलिएका आंकाक्षालाई मनन गरेर शिक्षकले आत्मसात गर्नुपर्छ । यसको लागि निरन्तर संघर्ष गरेर, संघर्षबाटै सिकेर आफूलाई नथाक्ने बनाउनु पर्छ । अभिभावकहरुको रोजाइको विद्यालय बनाउनका लागि, शिक्षालाई गुणस्तरीय बनाउनका लागि सिक्दै अघि बढ्नुको बिकल्प छैन भनेर मनमा लिए आफूले देखेको सपना साकार हुन्छ । दायित्व पनि पूरा हुन्छ ।

सरकारी विद्यालयमा पढाउनु भनेको निम्न आय भएका व्यक्तिमा दरिनु हो भन्ने खालको गलत धारणा समाजमा व्याप्त छ । यही कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थी पातलिँदै गएको यथार्थ हो । त्यसले गर्दा मध्यम वर्गका अभिभावकहरु पनि सरकारीमा आउन चाहेका छैनन् । विभेद हटाउका लागि दिइने शिक्षा विभेद बढाउने खालको बन्दैछ । यसैले यो विषयमा सरकारले शिक्षाविद् र शिक्षा सम्बद्ध सरोकारवालाहरुसँगको छलफलबाट निचोड निकाल्न हतारै भइसकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.