चैत १८, काठमाडौं । आइतबार एक्कासी आएको हावाहुरी प्रभावित क्षेत्र बारामा सोमबार धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस पुगेका छन् । उनले त्यहाँका हुरी प्रभावित स्थानीयलाई राहत सामग्री वितरण गरेका छन् ।
सीताराम कट्टेलको आधिकारिक फेसबुकमा उनले चार सय परिवारका लागि राहत सामग्री वितरण गरिएको उल्लेख गरेका छन् । फेसबुकमा लेखिएको छ, ‘बारा जिल्लाका आँधी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशनले चामल, त्रिपाल र चाउचाउ अति प्रभावित फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद शाहलगायत प्रतिनिधिको रोहवरमा हस्तान्तरण गरियो ।’
आइतबारको हुरीमा परी २७ जनाले ज्यान गुमाएका छन् भने ६ सयभन्दा बढि घाइते भएका छन् । अहिले बारा र पर्सा पुरै खण्डहर भएको छ । उक्त क्षेत्रमा राहत सामग्रीको खाँचो भएकोले राहतका लागि अपिल समेत गरिएको छ ।

