चैत १८, काठमाडौं । बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरी पछि दुई नम्बर प्रदेश सरकारले मन्त्रिपरिषदको आपतकालिन बैठक बोलाएको छ । भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलका अनुसार आपतकालिन अवस्थामा राहत र उद्दारको ठोस योजना बनाउन बैठक बोलाइएको हो ।
बारा र पर्सामा आएको हावाहुरीका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या २८ पुगिसकेको छ भने सयौंको संख्यामा घाइते भएका छन् । अहिले वीरगन्जका अस्पतालमा घाइतेको चाप बढेको छ । पर्साका विभिन्न अस्पतालमा ३ सय ५० जना भन्दा बढी घाइतेले उपचार गराइरहेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए ।
सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २५ जनाभन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्ज लगायतका अस्पतालहरुमा ४ सय भन्दा बढी घाइतेहरु उपचारत छन् । उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचारहरु आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् । सोमबार बिहानै जनकपुरधाममा प्रदेश मन्त्रिपरिषदको बैठक बसेको छ । बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकका परिवारलाई तत्कालीन रुपमा ३ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

