राहुल गान्धी दुई ठाउँबाट चुनाव लड्ने

चैत १७, नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ट नेता एके एन्टोनीले पार्टी अध्यक्ष राहुल गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने बताउनुभएको छ ।

केरलाको वायानाड निर्वाचन क्षेत्रबाट पनि गान्धीले लोकसभाका लागि प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो । उहाँ यसअघि उत्तर प्रदेशको अमेठीबाट पनि निर्वाचन लड्ने घोषणा भइसकेको छ ।  गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने विषयले अहिले भारतमा नयाँ बहस सृजना गरिदिएको छ । काँग्रेसका नेताहरुले यसलाई आवश्यकताका रुपमा व्याख्या गरेका छन् भने प्रमुख प्रतिस्पर्धी भारतीय जनता पार्टी (भाजपा) का नेताहरुले गान्धी भागेको, डराएको वा आफ्नो एक ठाउँको जितमा ढुक्क हुन नसकेको भन्ने गरेका छन् ।

“पार्टीका नेता तथा कार्यकर्ताहरुले विगत लामो समयदेखि अध्यक्ष राहुल गान्धी दुई ठाँउबाट निर्वाचन लड्नु पर्ने माग र चाहना व्यक्त गर्दै आएका थिए, उनीहरुले उहाँलाई भारतको दक्षिणी क्षेत्रबाट निर्वाचन लड्न आग्रह गर्दै आएका थिए,” एन्टोनीले भन्नुभयो । उहाँले अध्यक्ष गान्धीलाई विषेशगरेर कर्नाटक, केरला र तमिलनाडुमध्ये कुनै प्रदेशको निर्वाचन क्षेत्रबाट चुनाव लड्न दवाव आएको जानकारी दिनुभयो । धेरैतिरबाट निर्वाचन लड्नका लागि आग्रह गरेपनि अन्त्यमा उहाँ वायानाडबाट उम्मेदवार बन्न मन्जुर हुनु भएको अन्टोनीले बताउनुभयो । यो निर्वाचन क्षेत्रका लागि कर्नाटकका पूर्व मुख्यमन्त्री तथा काँग्रेस नेता सिद्धरमैयाले यही मार्च १५ मा अध्यक्ष गान्धीलाई आग्रह गर्नुभएको थियो । यसअघि मार्च ७ मा काँग्रेसले घोषणा गरेको पार्टीबाट निर्वाचन लड्नेहरुको पहिलो सूचीमा अध्यक्ष गान्धी अमेठीबाट मात्रै उम्मेदवार बन्ने उल्लेख थियो । –रासस÷एएनआई

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.