चीनमा भेटियो २५ सय वर्ष पुरानो सग्लो अन्डा

चैत १२, नानजिङ । पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो ।

नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन् । मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासका कारण अन्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको एक जना पुरातत्वविद् झाओ हेङमिङले बताउनुभयो । “सेतो र पहेंलो अवस्थामा भेटिएका ती अन्डा सडेको अवस्थामा छन्, तर नुनमा डुबाइएको थियो वा थिएन भन्ने बारेमा डिएनए परीक्षण गर्ने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो । अन्डाका शौखिन व्यक्तिको निधन भएपछि उनकै सम्झनामा भाँडोमा अन्डा राखेर सँगै गाडिएको हुनसक्ने अनुसन्धाताहरुको भनाई छ ।

प्राचीन चिनियाँ चिहानहरुमा अन्डा भेटिएको यो पहिलोपटक भने होइन, तर अन्डा नफुटेको अवस्थामा बिरलै पाइन्छ । वैज्ञानिकहरुका अनुसार यति लामो अवधिसम्म अन्डाको बाहिरी भाग सुरक्षित रहनु निकै कठिन हो । सन् २०१५ मा चीनको दक्षिणपश्चिम गुईझाओ प्रान्तमा पुरातत्वविद्हरुले दुई हजार वर्षभन्दा अघिको चिहानमा पनि अन्डा फेला पारेका थिए, तर उत्खननका क्रममा हातले छोएका कारण त्यस अन्डाको बाहिरी भाग फुटेको थियो ।–रासस÷सिन्ह्वा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.