चैत १२, काठमाडौं । गर्मीयाममा मात्रै होइन कतिपयको जाडोयाममा पनि खुट्टा गन्हाउने समस्या हुन्छ । जसले निकै तनाव दिएको हुन्छ । गर्मीयाम सुरु भएको छ । यसबेला अधिकांशको खुट्टा गन्हाउने गर्छ । खुट्टा तातो भएर पसिना आउँदा फङगस उत्पन्न हुन्छ ।
जसका कारण गन्हाउन सुरु हुन्छ । यो समस्या भइसकेपछि ३–४ हप्तासम्म ध्यान दिनुपर्छ । यसका लक्षणहरू विशेष गरी खुट्टाको औंलाको कापमा र छालामा चिरा पर्ने, फोका निस्की पानी भरिएर फुट्ने र पोलिरहने पनि हुन्छ । यस्तो बेलामा केही उपाय अपनाएर समस्या केही कम गर्न सकिन्छ। गन्हाउने समस्या भएका बेलामा खुट्टामा जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । सकेसम्म खुल्ला राख्नुपर्छ । यस्तो बेलामा मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउनु पर्छ । नुन पानीले फङगसलाई बढ्नबाट रोक्छ । यसले छालामा आउने पसिनालाई पनि केही कम गर्छ । नुन पानीमा भिजाउने क्रम ३–४ हप्तासम्म गरिरहनु पर्छ।
गन्हाउने समस्या देखापरेपछि एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर खुट्टाको औंलाको कापमा लगाई केहीबेर राखिदिने । एकछिनपछि खुट्टा सफासँग धुने र सुख्खा बनाउने । त्यसपछि अलिकति पाउडर लगाउँदा बेश हुन्छ।
छालाको जुत्ता सकभर प्रयोग नगर्ने । विशेषगरी गर्मीयाममा त जुत्ताभन्दा चप्पल÷स्लीपर जुत्ता लगाए नै वेश हुन्छ। जुत्तालाई सकेसम्म सुख्खा राख्नुपर्छ । जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले हावा खेल्ने ठाउँमा खोलेर राख्नु बेश हुन्छ । तुना बाँध्ने जुत्ता छ भने तुना खोलेर सकेसम्म हावा खेल्ने ठाउँमा राखिदिनुपर्छ । सम्भव भएमा जुत्ता बेला बेलामा घाममा सुकाउनाले पनि राम्रो हुन्छ।
मोजा गन्हाउने र हिलो उछ«ने जस्ता समस्या हुने व्यक्तिले सकेसम्म सूतीकै मोजा प्रयोग गर्नुपर्छ । सूतीकै मोजा पनि सकेसम्म हरेक दिन फेर्नुपर्छ । नुहाइ सकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नु पर्छ र १०–१५ मिनेट घाममा राख्नु पर्छ । मोजा, जुत्ता लगाउनै पर्ने भएमा खुट्टाका काप कापमा पाउडर दलेर मात्र मोजा लगाउनु बेश हुन्छ । यसले पसिना आउन कम गर्छ र फङगस पनि केही कम हुन्छ।
स्वीमिङ पुलको वरिपरि, व्यायाम गर्ने ठाउँमा र बाथरूममा चप्पलको प्रयोग गर्दा बेश हुन्छ किनभने यस्तो ठाउँबाट फङगस सर्ने बढी सम्भावना हुन्छ।

