नेपाली कामदार जापान जाने बाटाे खुल्याे

चैत ११, काठमाडौँ । नेपाल र जापानबीच आज कामदार अापूर्ति गर्नेबारे श्रम सम्झौता भएको छ । सोमबार दिउँसो एक कार्यक्रमका बीच कामदार आपूर्तिबारे सहकार्यको समझदारी (एमओसी) मा दुई देशबीच हस्ताक्षर भएको हो।

ललितपुरको कुपण्डोलस्थित हिमालयन होटलमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले समझदारी-पत्रमा हस्ताक्षर गरका हुन ।

सम्झाैताअनुसरा जापान रोजगारीमा जानका लागि ‘एन-फोर भाषा परीक्षा’ उत्तीर्ण गर्नुपर्ने प्रावधान राखिएकाे छ । जापान रोजगारीका लागि वर्षमा बढीमा ६ पटकसम्म भाषा परीक्षा सञ्चालन हुनेछ ।

सम्झौता कार्यक्रममा बोल्दै श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले नेपाल र जापानको बीचमा लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको बताउनुभयाे । उहाँले नेपालीहरुका लागि जापान रोजगारीको नयाँ र राम्राे गन्तव्य बन्ने बताउनुभयो ।

जापानले कामदार अापूर्तिका लागि छनोट गरेका ९ देशमध्येबाट नेपाल पनि पर्न सफल भएको बताउँदै यसका लागि राजदूतको साइगाेकाे भूमिका महत्वपूर्ण रहेको मन्त्री विष्टकाे भनाइ थियाे ।

‘नेपाली श्रमिकहरु सुरक्षित रुपमा वैदेशिक रोजगारीको लागि जान पाउन भन्ने सोच्दै आएका थियौँ,’ उहाँले भन्नुभयो, यस सम्झाैतासँगै अब नेपालीहरु सहज र सुरक्षित तरिकाले जापान जाने बाटाे खुलेकाे छ ।’

राेजगारीमा जाने कामदारकाे भर्ना प्रक्रियाका विषयमा छिटै काम हुनेमा उहाँले विस्वस्त पार्नुभयो । नेपाली श्रमिकहरुले जापानमा उचित सेवा-सुविधा पाउने र नेपालको रेमिट्यान्स अभिवृद्धिका लागि सहयोग पुग्ने उहाँको धारणा रहेको छ ।

मन्त्री विष्टले जापानले श्रमिक कामदारको रुपमा लान लागेको ९ ओटा देशमध्ये नेपाल दोस्रो मुलक बन्ने बताउनुभयो ।

अब भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट, लागतसहितका विषयमा छलफल गरेर कामदार पठाउने प्रक्रिया थालनी हुने जनाइएकाे छ ।

जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा विदेशी कामदार लैजाने बताएकाे छ । जसमा नेपालीहरुले नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालन लगायतका क्षेत्रमा जान पाउनेछन । नेपालबाट झण्डै ४० हजार कामदार लगिने बतायएकाे छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.