चैत १०, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भएको छ । बिहान ८ बजेदेखि शुरू परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ ।
यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।
चैत २१ गतेसम्म चल्ने परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । १ हजार ९ सय ६९ केन्दमा सञ्चालन हुने परीक्षाका लागि ७२ हजार ६ सय ७१ जना प्रत्यक्ष रुपमा सहभागी हुने राष्ट्रिय परीक्षा वोर्डले जनाएको छ । परीक्षाका लागि सहायक केन्द्राध्यक्ष ३ हजार १६७, २३ हजार ७ सय ५० निरीक्षक, ४ हजार ७ सय ५० जना परीक्षा सहायक, ९ हजार ५ सय कार्यालय सहयोगी र २९ हजार ५ सय ३५ जना सुरक्षाकर्मी परिचालन हुँदैछन् ।
छात्रभन्दा छात्राबढी
परीक्षा वोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार कुल परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् ।
परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ बाट एक लाख ६ सय २ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी हुँदैछन् । प्रदेश नम्बर १ बाट ८३ हजार ८१८, प्रदेश नम्बर २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नम्बर ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल हुनेछन् ।

