फागुन २७, काठमाडौं । परीक्षामा पास गराइदिने भन्दै प्रतिव्यक्ति २५ हजारका दरले रकम उठाएका एक शिक्षकविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । भ्याली कलेज अफ टेक्निकल साइन्समा पढाउँदै आएका शिक्षक खेमराज शाहीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
शिक्षक शाहीले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पब्लिक हेल्थ संकायको गत असोजमा भएको चौथो सेमेस्टरको परीक्षामा सामेल बायोस्टाटिस्टिक्स विषयका परीक्षार्थीहरूलाई पास गराइदिन्छु भन्दै प्रतिव्यक्ति २५ हजार रकम उठाएर खाएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता रामेश्वर दंगालले महानगरीय प्रहरी परिसर काठमाडौंबाट आयोगमा दर्ता हुन आएको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा सो तथ्य पुष्टि भएको जानकारी दिए । आयोगले प्रेस विज्ञप्ति जारी गर्दै उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक शाहीले आफ्ना साथी अर्जुन भाट र होप इन्टरनेशनल कलेजमा अध्ययनरत प्रवेग कोइरालासँग मिलेमतो गरी परीक्षामा अनुत्तिर्ण विद्यार्थीलाई पास गराइदिने भन्दै रकम उठाएको अनुसन्धानबाट देखिएको उल्लेख गरेको छ ।
आयोगले उत्तरपुस्तिकामा फेल भएका परीक्षार्थीहरूसँग आर्थिक लेनदेन गरी परीक्षाको नतिजा फेरबदल गर्ने गलत मनसायका साथ परीक्षार्थीहरुसँग सम्पर्क गर्ने कार्यमा भाटलाई लगाएको र केही परीक्षार्थीसँग तत्काल तथा केहीसँग पछि पैसा लिने शर्तमा लेनदेन भएको बताएको छ ।

