फागुन २१,काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ३७५ नेता तथा कार्यकर्तालाई पक्राउ परेका छन । नेपाल प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै गत वैशाखदेखि फागुनसम्म ३७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।
फागुन महिनामा मात्रै ३७ जना पक्राउ परेका छन जसमध्ये ३३ पुरुष र चार महिला छन । फागुनमा पक्राउ परेकामध्ये धनकुटाबाट दुई, प्युठानबाट एक, झापाबाट दुई, सर्लाहीबाट तीन, पर्साबाट तीन, अछाम, मोरङ, ललितपुर, सुनसरी र तेह्रथुमबाट एक एक, इलामबाट पाँच र सिन्धुपाल्चोकबाट १७ रहेका छन ।
चन्दा सङ्कलनको लेटरप्याड, सरकार विरुद्धका पर्चा पम्पेट, सैन्य तालिम गराउने दस्तावेजलगायतका सामाग्री बरामद गरेकाे प्रहरीले जानकारी दिएकाे छ । राज्य विरुद्धका गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र केहीलाई अनुसन्धान गरेर छाडेका छौँ र केहीलाई विभिन्न कसुरअन्तर्गत मुद्दा चलाएका प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताएका छन ।

