एन्फाको लोगो र राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी सार्वजनिक

फागुन २०, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी र आफनो लोगो सार्वजनिक गरेको छ। सोमबार काठमाडौंमा कार्यक्रम गरी एन्फाले राष्ट्रिय टोलीका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशबकुमार बिष्ट, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल प्रहरीका एआइजी धिरु बस्न्यात, केल्मीका प्रदिप नेपाललगायत एन्फाका पदाधिकारीले जर्सी र लोगो सार्वजनिक गरेका हुन्। सार्वजनिक नयाँ जर्सी रातो र निलो रंगको छ। रातो होम र निलो अवेका लागि प्रयोग गरिनेछ। एन्फाले जर्सीका लागि अन्तराष्ट्रिय ब्रान्ड केल्मीसंग प्रायोजन सम्झौता गरेको छ। सम्झौता अनुसार केल्मीले एन्फालाई करीब ९० लाख बराबरको सामग्री हस्तान्तर गर्नेछ।

लोगो सार्वजनिक

खुल्ला प्रतिस्पर्धाबाट गरिएको लोगो प्रतियोगितामा पोखराका सन्दीप तिवारीले बनाएको डिजाइनलाई एन्फाले आफनो आधिकारिक लोगोका रुपमा सार्वजनिक गरेको छ। नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ। पुछारमा फुटबलको चिन्ह छ। फुटबलमा ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने रङ राखिएको छ। राष्ट्रिय झण्डा फहराइरहेको देखिने लोगोका डिजाइनर सन्दीपलाई एन्फाले ५० हजार रुपैयाँसहित सम्मान गरेको छ। लोगो प्रतियोगितामा ५ सय ७० जनाले आफनो डिजाइन पठाएका थिए। जसमा पोखराका सन्दीपले बनाएको डिजाइन एन्फाको आधिकारिक लोगो बनाएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.