वाइडबडीमा रवीन्द्र अधिकारी निर्दोष – प्रधानमन्त्री ओली

फागुन १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् ।

हेलिकोप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रवीन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न बसेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को आज भएको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर केही तत्वले बद्नाम गर्न खोजेको बताएका थिए । “यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न अत्यन्तै अनुचित ढंगले वहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले वहाँलाई बद्नाम गर्न खोजे जो सम्पूर्ण रुपमा निराधार कुरा हो,” प्रधानमन्त्री ओलीले भने, “वहाँले कुनै लोभलालचका लागि होइन र वहाँले वाइडबडीमा आफूले केही गरेको पनि छैन त्यो वाइडबडी वहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो । तर पनि नेपाल यस्तो देश भएको छ जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने त्यस्तो प्रवृति र रुची भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ ।”

वाइडबडीका बारेमा रवीन्द्र अधिकारीलाई आरोप लगाउनु दुःखद भएको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भनेका छन्, “मलाई दुःख लाग्छ कि वहाँजस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढंगले, त्यस प्रकारले आरोप लाञ्छनाहरु लगाउने र अपमान गर्ने कामहरु पनि भयो । ” मन्त्री अधिकारीले नागरिक उडड्यनको क्षेत्रमा देखिनेगरी असाधारण काम गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । छ वटा विमास्थलमा रात्रि उडान सञ्चालन गर्ने, धनगढी, विराटनगर र चन्द्रगढी विमानस्थलको काम अघि बढाउने कुरा अधिकारी कै सक्रियतामा भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैंले हेरेर आउने भनेर अधिकारी त्यसतर्फ गएको प्रधानमन्त्री ओलीले बताए । “तेह्रथुमको चुहानडाँडामा इन्जिनियरिङ सर्भे आदिबाट उपयुक्त ठाउँ छ, निर्माण गर्न सकिन्छ भन्ने रिर्पोट आइसकेपछि आफैं गएर हेर्ने र आफैंले हेरेपछि उपयुक्तता, अनुपयुक्तता छुट्याउने भनेर जानुभएको थियो,” प्रधानमन्त्रीले भने । ढिलोमा तीनबर्ष भित्र सो ठाउँमा विमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले बताए । दुर्घटनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एकजना हस्ती भएको प्रधानमन्त्री ओलीले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.