फागुन ८, पशुपतिनर । इलामका दुई स्थानीय तहमा खानेपानीको हाहाकार मच्चिएको छ । घरवरीपरीका खानेपानीको मुहान सुकेपछि स्थानीयमा खानेपानीको चरम अभाव सृजना भएको हो । चुरे क्षेत्रको वन फडानीले भूक्षय र पहिरो गएपछि पानीका मुहान पुर्ने र हिउँदमा मुहान सुक्ने गरेकाले हाल झण्डै ५० हजार व्यक्ति खानेपानीका लागि खोला र खोल्सा धाउन बाध्य छन ।
प्राकृतिक कुवा, धारा सुकेसँगै दक्षिणी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेलेको वर्षाै बितेको छ । गाउँका पानीका मुहान सुकेसँगै दक्षिणी चुरे क्षेत्रका बासिन्दाका लागि खोला र खोल्साका किनार पानीका स्रोत भएका छन । चुरे क्षेत्रमा जङ्गल फँडानी, अव्यवस्थित बसोबास, विकास निर्माण र अतिक्रमणका कारण पानीका मुहान सुकेपछि स्थानीयवासीले खानेपानीका लागि सास्ती खेप्नु परेको महमाईका देवीभक्त कुमालले बताउनुभयो । चुरे क्षेत्रमा पर्ने माई नगरपालिका र चुलाचुली गाउँपालिका क्षेत्रमा वन फँडानी बढेसँगै वर्षात्मा हुने भूक्षय र बाढीपहिरोले पानीका मुहान पुरिने र सुक्ने गरेको छ । वर्षौँदेखि उपभोग गर्दै आएको पानीको स्रोत सुकेपछि चुरे क्षेत्रका बासिन्दा खोला किनार तथा खेतमा ट्युवेल, इनार बनाई वर्षात्मा धमिलो र हिउँदमा बालुवासहितको पानी खान बाध्य छन ।
आयस्रोत हुनेले ट्युवेल र इनारको पानी मोटरबाट घरमै तान्छन भने नहुनेले खोला किनार धाउने गरेको दानाबारीका तेजबहादुर घिमिरेले बताउनुभयो ।

