नेपालको विजयी सुरुआत, मलेसिया ३४ रनले पराजित

फागुन ७, काठमाडौं । उपकप्तान सिता रानामगर र कप्तान रुविना क्षेत्रीको उत्कृष्ट प्रदर्शन प्रेरित नेपालले आईसीसी महिला विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्र छनोटमा मलेसियालाई ३४ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

१ सय २७ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९२ रनमा समेटिएपछि नेपाल विजयी भएको हो । नेपालको जितमा कप्तान रुविनाले अविजित ३३ रन बनाउँदा उपकप्तान सिता रानामगरले ४२ रनको योगदान दिइन् । ४० बलको सामना गरेकी सिताले २ चौका प्रहार गरेकी थिइन् । २५ बल खेलेकी रुविनाले ३ चौकाको मद्दतमा ३३ रन बनाइन् । इन्दु बर्माले १३ रन बनाउँदा र नेरी थापा ६ रनमा रनआउट हुँदा ममता चौधरीले खाता नै खोल्न सकिनन् । सरीता मगर १ रनमा अपिजित रहिन् । मलेसियाकी दुराइसिगम, सान्सा अज्मी र जुमिका अज्मीले एक–एक विकेट लिए ।

मलेसियाका लागि क्रिष्टिनाले २१, दुराइसिंगमले १८ तथा सान्सा अज्मीले १६ रन बनाउनु बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । मलेसियाका खेलाडीलाई सस्तैमा समेट्न नेपालकी करुणा भण्डारी र सरीता मगरले दुई दुई विकेट लिँदा कबिता कुँवर र सिता राना मगरको नाममा एक एक विकेट रह्यो । ६ टोली सहभागी छनोटको दोस्रो खेल नेपालले फागुन ९ गते थाइल्यान्डसँग खेल्नेछ । त्यसपछि फागुन १० गते संयुक्त अरब इमिरेट्स (यूएई), फागुन १२ गते हङकङ र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविनका आधारमा हुने छनोटको शीर्ष स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.