फागुन ७, अत्तरिया । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ ।
प्रदेशको सामाजिक मन्त्रालयले चालू आर्थिक वर्षमा खेल मैदान निर्माण तथा सुधारका लागि रु ६ करोड ४० लाख बजेट विनियोजन गरेको छ । नाैवटै जिल्लाका ३२ स्थानमा खेल मैदान निर्माण एवम सुधार कार्यक्रमका लागि साे बजेट विनियाेजन गरिएकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी कैलालीका विभिन्न १० स्थानमा खेल मैदान निर्माण तथा स्तरोन्नति गरिँदै छ । यसैगरी कञ्चनपुरका ६ स्थानमा तथा अछाममा ४ वटा खेलमैदान कार्यक्रममा परेका छन । अन्य ६ वटा जिल्लामा २।२ गरी जम्मा ३२ खेलमैदान बन्ने भएका छन । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन भने ३२ प्रदेशसभा निर्वाचन क्षेत्र छन । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत नै ती मैदान बन्न लागेका हुन । एक खेल मैदानका लागि रु २० लाखका दरले ३२ वटै प्रदेशसभा निर्वाचन क्षेत्रका खेलमैदानका लागि ६ कराेड ४० लाख बजेट छुट्याइएकाे हाे ।
प्रत्येक निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सांसदले सिफारिस गरेको स्थानमा खेल मैदान छनोट गरिएको सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकूद महाशाखाले जनाएकाे छ । चालू आर्थिक वर्षको असार मसान्तसम्म सबै खेल मैदानकाे निर्माण कार्य सम्पन्न गरिसक्ने बताइएकाे छ ।

