माघ २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जको ठाउँ साँघुरो भएकाले सबै क्रियाकलाप एकै ठाउँमा गर्नका लागि फराकिलो स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको बताउनुभएको छ ।
प्रहरी निरीक्षक आधारभूत तालीमको १७८ औँ समूहको दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “धेरै वर्ष अगाडिदेखि यो ठाउँ साँघुरो भयो भन्ने वास्तविक आभास थियो, यहाँबाट पनौती लाने भनेर जमीन खरीद गरिएको र दशौँ वर्षअघि भारतले समेत एकेडेमी बनाउने भनेको थियो, अहिले यसमा कतिपय हल्ला गर्न रुचाउने सेलेब्रेटी स्वभावले अनुचित खालका टिप्पणी गरे ।” “कतिपयले सम्माननीय राष्ट्रपतिज्यूले यहाँबाट लखेट्न खोज्या हो कि जस्तो गरेर प्रचार गरी असभ्यता देखाए, पूर्वप्रहरी अधिकृतले आफ्नो समयमा त्यही कुरा गर्ने अनि अहिले आएर विरुद्धमा वक्तव्यबाजी र टिप्पणी गरेको पनि सुनियो, जनताको पक्षमा काम गर्न सरकार दृढ छ”, प्रधानमन्त्रीले थप्नुभयो । प्रहरी स्रोतका अनुसार प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा स्थानान्तरण गर्न दुई तीन चरणमा गरी ८२२ रोपनी जग्गा लिइसकिएको छ ।
अर्को प्रसङ्गमा उहाँले विभिन्न बहानामा अपराधको राजनीतीकरण भएको उल्लेख गर्दै बम पड्काउने, मान्छे मार्ने, अपराध गर्ने र जनताको नाममा लुटपाट मच्चाउने प्रयास गर्ने र आतङ्ककारी क्रियाकलापमा राजनीतिको खोल बनाउनेहरु उम्किन नसक्ने चेतावनी दिनुभयो । देशको समृद्धि र सुशासनका लागि प्रहरीको समेत महत्वपूर्ण भूमिका हुने बताउँदै प्रधानमन्त्री ओलीले दीक्षित प्रहरी निरीक्षकलाई अनुशासनमा बस्न र मातहतकालाई अनुशासनमा राख्न आग्रह गर्नुभयो । सानालाई दलाउने र माथिकाको दलाली गर्ने काम बन्द गर्न उहाँले सुझाव दिनुभयो । प्रहरी दलालीका लागि होइन स्वाभिमानपूर्ण कर्तव्यपरायण देखाएर सेवा गर्नका लागि हो भन्दै उहाँले बढुवा हुनका लागि कसैलाई रिझाउनु र कसैकामा धाउनु नपर्ने बताउनुभयो ।
“प्रहरी सङ्गठनका जिम्मेवार अधिकारीलाई म भन्न चाहन्छु, कार्यसम्पादनका मूल्याङ्कन वा बढुवाका लागि न्यायोचित प्रणाली स्थापना गर्नुहोस्, कुनै पनि तरिकाको पक्षपात, भेदभाव, कोसेली, चाकडीको पक्षमा सरकार छैन ।”

