‘सिमसार तथा जलवायु परिवर्तन’ भन्ने मूल नाराका विश्व सिमसार दिवस मनाईदै

माघ १९, काठमाडौं । हरेक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसार तथा जलवायु परिवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सिमसार भन्नाले पानीको मुहान लगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । यसले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै वन तथा वातावरण मन्त्रालयले सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थलको रूपमा रहेको सिमसारले मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्ने बताउनुभयो ।

सिमसार संरक्षण तथा पर्यापर्यटन विकासमा सिमसारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पर्यटकका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकन लगायतका प्राकृतिक सौन्दर्यताको अनुभव सिमसारले नै उपलब्ध गराउने उहाँले बताउनुभयो ।सिमसारमा आश्रित समुदायको गरीबी निवारणमा पनि पर्यटन विकासले ठूलो भूमिका खेलेको हुन्छ । उपमहानिर्देशक कँडेलले भन्नुभयो, “पर्यटनले जैविक विविधताको संरक्षणलाई आर्थिक स्रोत जुटाउने कार्य पनि गर्छ भने स्थानीय समुदायलाई आर्थिक उपार्जनका लागि अवसर पनि प्रदान गर्छ ।” यसका लागि दिगो पर्यटनको विकास र सिमसार संरक्षणको उचित सन्तुलन हुनु जरुरी छ । नेपालको आर्थिक वृद्धिदरमा ३ दशमलव ५ प्रतिशत पर्यटन विकासले योगदान दिएको छ भने १५ प्रतिशत कूल वैदेशिक मुद्राको आय पनि पर्यटन विकासबाट नै हुने गरेको देखिन्छ । सिमसारको अत्याधिक उपयोग, भूमि अतिक्रमण, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उहाँले जानकारी दिनुभयो ।

लोपोन्मुख वन्यजन्तुको बासस्थान

विभागका अनुसार नेपालको करीब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको १९९८ को अभिलेख अनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । लाखौँ घुमन्ते चरा, माछा, उभयचर, किटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो, सिमसार । सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको छ । विभागको तथ्याङ्कअनुसार नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् ।

नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिको वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् । विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि ९रामसार महासन्धि १९७१० २ फेबु्रअरी १९७१ मा इरानको रामसार भन्ने शहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन शुरु गरिएको हो ।

दश सिमसार रामसारमा सूचीकृत

रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या १७० पुगेको छ । साथै दुई हजार ३१४ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १७ डिसेम्बर १९८७ का दिन नेपालले कोशी टप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर १७ अप्रिल १९८८ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको उपमहानिर्देशक कँडेलले बताउनुभयो ।

रामसार सूचीमा नेपालका कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बीसहजारी ताल समूह, राराताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल समूह, माईपोखरी र पोखराका ताल गरी जम्मा १० सिमसार सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५६१ हेक्टर रहेको विभागको तथ्याङ्क छ । यस वर्षको सिमसार दिवस मन्त्रालयले गण्डकी प्रदेशको वन मन्त्रालय, पोखरा महानगरपालिकालगायत सरोकारवाला निकायको समन्वयमा पोखरामा विविध कार्यक्रम गरी भव्य रूपमा मनाउँदै छ ।
रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.