कीर्तिमानी गोलसँगै अलमोइज अली जापानविरुद्ध फाइनलका लागि खेल्ने

माघ १६, एजेन्सी । कतारका अल्मोइज अलीले बुधबार राती युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध गोल गर्दे एएफसी एसियन कपको एकै संस्करणमा सबैभन्दा धेरै ८ गोल गर्ने अली दाईको कीर्तिमानसँग बराबरी गरेका छन् ।

कीर्तिमानी गोलसँगै अलमोइज अली शुक्रबार जापानविरुद्ध हुने फाइनलका लागि केन्द्रित भएका छन् । १९९६ को संस्करणमा इरानका अली दाईले कीर्तिमान बनाउँदा अलमोइज अली ४ महिनाका मात्र थिए । अलमोइज अलीले यूएईविरुद्ध पहिलो हाफ सकिन ८ मिनेट बाँकी छँदा गोल गर्दै इरानका हस्ती अली दाईको कीर्तिमानीसँग बराबरी गरेका हुन् । अलमोइज अलीको गोलसँगै कतारले यूएईविरुद्धको सेमिफाइनलमा २–० को अग्रता लिएको थियो । त्यसअघि २२औं मिनेटमा बोउएलेम खोउखीको गोलमा कतारले अग्रता लिएको थियो । २०२२ को विश्वकप आयोजक कतारले मंगलबार राती यूएईविरुद्ध ४–० को सहज नतिजा निकाल्दै पहिलो पटक एसियन कपको फाइनलमा स्थान बनाएको छ । “मैले अली दाईको कीर्तिमान बराबरी गर्नेबारे सोचेको थिइन,” फाइनलको तयारी गर्नुअघि अलमोइज अलीले एएफसीसँग भने, “यो मेरो भाग्य हो । मेरो गोलले कराती जनता, मेरो परिवार र टिममा खुशी ल्याउन सफल भएकोमा म हर्षित छु । म उनीहरुकै लागि गोल गर्न चाहन्थे र त्यसमा सफल भए । अब हामी अर्को खेलका लागि केन्द्रित हुनुपर्छ र जापानलाई हामीले राम्रोसँग अध्ययन गर्नुपर्छ ।”

अलमोइज अलीले गरेको ८ गोलसँगै कतार ऐतिहासिक उपलब्धि नजिक छ । कतारको सफलता जति महत्वपूर्ण थियो, अलमोइज अलीको गोल पनि उत्तिकै सुन्दर थियो । पेनाल्टी क्षेत्रबाट उत्कृष्ट गोल गरेका अलमोइज अलीले आफ्नो गोल राम्रो हुनुभन्दा देशको उपलब्धि महत्वपूर्ण रहेको बताए । उनले थपे, “पक्कै पनि यो राम्रो गोल थियो । तर, त्यो महत्वपूर्ण होइन । किनकी हाम्रो लक्ष्य यो भन्दा धेरै ठूलो छ । त्यसैले उक्त लक्ष्य प्राप्तिका लागि मैले अझै मेहनत गर्नु आवश्यक छ ।” अलमोइज अलीको व्यक्तिगत सफलतासँगै कतारको जित पनि सम्झनलायक रह्यो । बोउएलेम खोउखी, अलमोइज अली, हसन अल हाएदोस र हमिद इस्माइलको गोलमा फेलिक्स सान्चेजको टोलीले घरेलू दर्शकलाई स्तब्ध बनायो । जारी प्रतियोगितामा अपराजित यात्रा कायम राखेको कतारले फाइनल यात्रा तय गर्दासम्म एउटै गोल पनि खाएको छैन । यससँगै कतारले प्रतियोगिताको ६ खेलसम्म गोल नखाने कीर्तिमान पनि बनाएको छ । अस्ट्रेलियामा सम्पन्न २०१५ को संस्करणमा कतार समूहका सबै खेलमा पराजित हुँदै घर फर्किएको थियो ।
“प्रतियोगिताको शुरुबाटै घरमा बसेर हामीलाई हौसला प्रदान गर्ने कतारी जनतालाई म बधाई दिन चाहन्छु ।

र मेरा सहयात्रीहरुलाई पनि,” अलमोइज अलीले भने, “हामीले कतारी जनताको सपना पूरा गरेका छौं र आशा छ भविष्यमा अझ ठूलो उपलब्धि हासिल गर्नेछौं । कति गोलमा जित्यौ वा हार्यौं भन्दा पनि अब के गर्नुपर्छ भन्ने महत्वपूर्ण हो । फाइनलमा हामी धैर्य हुन सक्नुपर्छ । धैर्य भएर खेल्यौं भने राम्रो गर्नसक्छौं । अगाडी हामीले के गर्यौं कसो गर्यौं सबै बिर्सेर फाइनलमा ध्यान केन्द्रित हुनु आवश्यक छ । अनि मात्र हामी फाइनल जित्न सक्छौं ।”
फाइनल खेल जियाद स्पोर्टस् सिटी रंगशालामा शुक्रबार हुनेछ । फाइनलमा कतारले जापानसँग प्रतिस्पर्धा गर्नेछ । जापानले इरानलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.