माघ १६, काठमाडौं । विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) अन्तर्गत शिक्षा मन्त्रालयले सन् २०२२ सम्ममा १ हजार नमुना विद्यालय बनाउने लक्ष्य लिएको छ ।
सोही लक्ष्यअनुसार मुलुकभर प्रत्येक निर्वाचण क्षेत्र अन्तर्गत एउटा नमुना विद्यालय पर्ने गरी १ हजार नमुना विद्यालय बनाउने उसको योजना छ । जसअन्तर्गत हालसम्म जम्मा २ सय २२ वटा विद्यालय छनौट भई त्यसको गुरुयोजना अन्तिम चरणमा पुगेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रका विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका निर्देशक पद्म विष्टका अनुसार हालसम्म नमुना विद्यालयको लागि छनौट भएका २ सय २२ विद्यालयको गुरुयोजना फाइनल हुने चरणमा रहेको छ । उनले तीमध्ये १२ वटा विद्यालयले पालिकाबाट स्वीकृत गराएर काम थाल्ने भएको बताए ।
निर्देशक विष्टले भने, “पहिले १ हजार नमुना विद्यालय बनाउने भनेर एसएसडीपीले बोलेको थियो । त्यतिबेला संघीयता थिएन । हामीले यस वर्षको लागि निर्वाचन क्षेत्र १ सय ६५ मै नमुना वद्यालय बनाउने भनिरहेका छौं । त्यसलाई पहिले तयार पार्नुपर्छ तर अर्को वर्षबाट हामी पालिकागत रुपमा जाने सोचेका छौं । एसएसडीपीको १ हजार विद्यालय बनाउने घोषणाको सन् २०१९ मा मध्यावधिक समीक्षा हुँदैछ । हामीले त्यसमा ‘एक गाउँपालिकामा १ नमुना विद्यालय’ हुनुपर्ने प्रस्ताव गर्छौं । त्यसपछि सोही आधारले अगाडि बढ्नेछौं ।” शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले १ हजार नमुना विद्यालय बनाउनका लागि पहिलो चरणको हाल कुल ५ करोड रकम स्थानीय सरकारमा पठाइएको जानकारी दिए । यद्यपि रकम स्थानीय सरकारमा पठाइएपनि छनौटमा परेका अधिकांश विद्यालयहरु गुरुयोजना बनाउने काममै अड्केका छन् ।

