लगानी सम्मेलन सफल बनाउन प्रधामन्त्रीद्वारा आग्रह

तीर्थप्रसाद भटृराई ।
माघ ११, स्वीट्जरल्याण्ड । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाल सकारात्मक बाटामा अगाडि बढेकाले प्रवासी नेपाली जनतालाई अलमलमा नपर्न र विदेशी मित्रलाई नेपालप्रति पूर्वाग्रही नहुन आग्रह गरेका छन् ।

जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका लागि स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले यहाँ आयोजना गरेको स्वागत समारोहमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आगामी चैत १५–१६ मा काठमाडौंमा हुने लगानी सम्मेलनमा सहभागी भई सफल पार्न विदेशी लगानीकर्तालाई आग्रह गरे ।

नेपालले हिंसा समाप्त गरेको, हतियार र लडाकू व्यवस्थापन गरेको, हिंसाको नीति परित्याग गरेको र गणतन्त्रतर्फ गई असाधारण उपलब्धि हासिल गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘‘नेपाली जनताले राजनीतिक अधिकार मात्र नभई आर्थिक तथा सामाजिक अधिकार पनि पाएका छन्, नेपालको संविधान श्रेष्ठ छ, उत्कृष्ट छ र आवश्यकताअनुसार परिमार्जन हुनसक्छ ।’’ उनले मुलुकको आवश्यकता, गन्तव्य तथा नेपाली जनताको अठोटका विषयमा विश्व आर्थिक मञ्चमा जानकारी दिन आफू डाभोस आएको जानकारी पनि दिए । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गर्दै राजदूत दीपक धितालले गतिशील नेतृत्वमा नेपाल अगाडि बढिरहेको र डाभोसमा पनि नेपालले राजनीतिक समस्या समाधान गरी समृद्विको बाटामा हिँड्न चाहेको सन्देश दिएको बताए ।

एनआरएन स्वीट्जरल्याण्डका अध्यक्ष भूमि गुरुङले स्वीट्जरल्याण्डमा करिब चार सय नेपाली रहेको र तिनीहरु रेष्टुरेण्ट, पर्यटन व्यवसाय, चिकित्सा, इञ्जिनियरिङ तथा बैङ्किङ क्षेत्रमा कार्यरत रहेको जानकारी दिए । नेपाल स्वीट्जरल्याण्ड मैत्री सङ्घका अध्यक्ष मार्कस रुक्स्तुलले विद्यावारिधिको विद्यार्थीका रुपमा नब्बेको दशकमा नेपाल जाँदा तल्लो तहको पनि जानकारी पाएपछि नेपालीसंँग आफ्नो सम्बन्ध जोडिएको बताए । जेनेभास्थित नियोग उपस्थायी प्रतिनिधि तीर्थराज वाग्लेले नेपाल स्वीट्जरल्याण्ड सम्बन्धका विभिन्न पक्षबारे उल्लेख गरे । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.