बाजुरामा हिमपात

माघ ८, बाजुरा । बाजुरामा हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म जिल्लामा तीन पटक हिमपात भएको हो । पुसमा मात्र दुई पटक हिमपात भएको थियो ।

हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ । सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण बाजुराका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । हिमपात एकाएक भएको हो । दिनभर घाम लागेको थियो । मध्यरात एकाएक मौसम बदली भएर हिमपात भएको हो । जिल्लाका हिमाली गाउँपालिकाको रुगीन, बिच्छया, गौमुल गाउँपालिकाको दहकोट, मानाकोट, खप्तड छेडेदह गाउँपालिकाको काँडा, आटीचौर, त्रिवेणी नगरपालिकाको कैलाशमाडौँ, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन, बडीमालिकाको डम्कने, रजातोली, जुगाडासहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ ।

सदरमुकाम मार्तडीलगायतका तल्लो क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ भने सदरमुकाम नजिकैका बस्तीमा हिमपात भएको छ । हिमपात हुने क्रम अझै जारी छ । हिमपातले जनजीवन निकै कष्टकर बनेको स्थानीयवासीले बताएका छन् । सदरमुकाम मार्तडीका पसलहरू फाट्टफुट्ट खुलेका छन् । सदरमुकाम आसपासको जङ्गलमा झण्डै आधा फिट हिउँ जमेको छ । यहाँका मानिस घरमा आगो तापेर बसेका छन् । हिमपातले सबैभन्दा जिल्लाको उच्च भेगको जनजीवन नराम्ररी प्रभावित बनेको छ भने पोरखे लेकमा धेरै हिउँ परेका कारण मार्तडी कोल्टी सडकमा चल्ने ट्र्याक्टर र जीप सेवासमेत बन्द भएको स्वामिकात्तिक यातायात प्रालिका काउण्टर इन्चार्ज निशान्त रोकायाले जानकारी दिए । मान्छेको आवतजावतसमेत रोकिएको उनले बताए । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.