प्रारम्भ खबर ।
माघ ५, काठमाडौं । काठमाडौँको उत्तरपूर्वी भागमा रहेको ऐतिहासिक नगरी शंखरापुर नगरपालिकाको साँखुमा रहेको शालिनदीमा सोमबारदेखि हुने श्री माधवनारायण स्वस्थानी व्रत एवं मेलालाई व्यवस्थित बनाउन सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको छ ।
श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले आज पत्रकार सम्मेलन गर्दै मेलामा आएका भक्तजन तथा व्रत बस्नेहरुलाई सुरक्षा तथा पूजासम्बन्धी अपनाउन पर्ने नियम समेतको जानकारी गराइएको थियो । प्रत्येक वर्ष पौष शुल्क पूर्णिमादेखि माघ शुल्क पूर्णिमा सम्म साँखुको शालिनदी तटमा माधवनारायण स्वस्थानी व्रत बस्दै आएको छ । स्वस्थानीको व्रत बस्दा मनोकांक्षा पूरा हुन्छ भन्ने मान्यताका साथ प्रत्येक वर्ष स्वस्थानीको पाठ तथा व्रत बस्ने गरिन्छ । विशेष गरी स्वस्थानी ब्रत मेलाका समयमा देश तथा विदेशबाट समेत दर्शनार्थीहरु आउने भएकाले व्यवस्थापनलाई थप चुस्त दूरुस्त बनाउन २६ सदस्यीय व्यवस्थापन समिति समेत बनिसकेको छ भने दर्जनौँ उप समितिहरु क्रियाशील भईसकेका छन् ।
गत वर्षहरुको आँकडा हेर्दा यस वर्ष ३० लाख भन्दाबढि भक्तजनहरु दर्शन गर्न आउने आंकलन गरेको समितिले बताएको छ । सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी, बजार व्यवस्थापनमा स्वंमसेवकहरु, खटाउने र शंखरापुरका मेयरको अध्यक्षतामा बजार अनुगमन टोली समेत तयारी अवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । शालिनदी मेलालाई भव्य रुपमा सफल पार्न विभिन्न संघसंस्थाहरुसंग पनि सहकार्य गरी अघि बढ्ने श्री माधवनाराण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष गोविन्द बहादुर श्रेष्ठले जानकारी दिए । त्यसैगरी यातायात व्यवस्थापन तथा पार्किङका लागि थप व्यवस्था गरिएको जनाए । विगतको वर्षमा भन्दा यसवर्ष मेला व्यवस्थापनले गरेको बन्दोबस्तलाई कडा गर्दै लैजाने र सबै श्रद्धालु भक्तजनलाई सहज तरिकाले दर्शन गर्न पाउने वातावरण बनाउने समितिले प्रतिवद्धता व्यक्त गरे ।

