माघ ५, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलानाथ खनालले वर्तमान संविधान देशभक्तिको संरक्षण गर्ने खालको रहेको बताएका छन् । संविधानले परिर्वतनको ढोका खोलिसकेको बताउँदै सबै राजनीतिक दलहरुले आत्मसाथ गरी अघि बढ्नुपर्ने बताए ।
राजधानीमा पत्रकार तथा युवा कवि राम बर्तौला ‘आँसु’ द्वारा लेखित कविता सङग्रह ‘राष्ट्र उद्गार’ को पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता खनालले संविधान समाजवादमुखी तथा प्रगतिशील रहेकोे उल्लेख गर्दै राष्ट्र निर्माण कार्यमा कसैले बखेडा झिक्दै अवरोध पु¥याउन नहुने बताए । राष्ट्र निर्माणको संघारमा रहेको मुलुकलाई राजनीतिक खतराबाट बचाउन आवश्यक रहेको भनाई व्यक्त गर्दै नेता खनालले आर्थिक समृद्धि र देश विकासका लागि अघि बढ्नुपर्ने अवस्थामा राजनीतिक विषयमै अल्झिन नहुने पनि बताए । राष्ट्र उद्गार कविता संग्रहमाथी चर्चा गर्दै कविता तथा साहित्यले समाज रुपान्तरणको प्रतिविम्बा गर्ने भएकाले देशको विकास र निर्माणका पक्षमा पनि मार्गदर्शन भएको बताए । उनले समाजमा भएको विकाससंगै कुरिति र भ्रष्ट्राचारलाई समेत नियन्त्रण गराउन साहित्यले भूमिका हुनुपर्ने औल्याए ।
त्यस्तै सोही कार्यक्रममा बौल्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्ताराम विडारीले पछिल्लो समयमा मिडिया र पत्रकारहरुमाथी राज्य निर्माम हुन खोजिएको आरोप लगाउँदै पत्रकारहरुलाई विना कारण दुःख नदिन आग्रह गरे । विभिन्न बहानामा पत्रकारमाथी राज्यको आक्रमण हुन खोजिएको भन्दै सञ्चार क्षेत्रलाई राज्यले सुरक्षित वातावरण बनाउनुपर्ने बताए । अध्यक्ष विडारीले सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई पनि कुनै पूर्वग्राही नभई निष्पक्ष रुपमा कार्य सम्पादन गर्न सुझाव दिए ।

