‘बा–आमाको आँखाबाट कर्णाली बगीरह्यो’

– विशाल बजगाईं

अतालिन्छ उ, भक्कानिन्छ उ
केहि गुमाउने त्रासमा
आफैमा हराउने अमिल्दो आसमा
थकित तन र ग्रसित मन
अनि, दयनियताको चौतारीमा बिसाएको
सपनाको भारी

त्यहि भारीमा दबिएको थियो
अनेकन सपनाहरु,
हर्षका शिला बटुल्ने सपना
बा आमाको दुख भगाउने सपना

समय बित्यो तर,
सपनाको भारी हलुंगो भएन
बढ्दै गयो, बढ्दै गयो
सप्तकोशी उसको लागी सुख्खा लाग्यो
अरबको मरभूमी जलमग्न,
हो, उ विदेशीयो
हर्षका शिलाहरु बटुल्न,
खाडिको उच्च तापक्रममा बलेर
परीवारको अनुहारलाइ त उज्यालो बनाइदियो
तर आफु
बल्दै गयो, बल्दै गयो
मइनबत्ति बनेर ।।।

मरभुमिमय उसको जीवनले
समुन्नत नेपालको कल्पना गर्दथ्यो,
पुन सगरमाथाको काखमा
लडिबुडि गर्न चाहान्थ्यो,
गाउँघरको चिसो हावाको महसुस गर्न चाहान्थ्यो,
अफ्सोच,
उसले अरबमै
कयौँ वसन्त बिताउन बाध्य भयो
अनि यता भने
देशको अवस्था कहिल्यै फेरीएन
भत्किएको धरहरा जस्तै,

कठै, नेपाली स्रमिक
र उनीहरुका सपनाहरु,
सपनाको भारी बोकेर अरब छिरेको उसले
संघर्षको अन्तिम सास पनि अरबमै फेर्यो,
बा आमाको बुढेशकालको लाठी भाँचियो
एउटा सपनाको अन्त्य भयो
तर,
उ फर्कने आसमा
बा आमाको आँखाबाट कर्णाली बगीरह्यो
बगीनैरह्यो बगीनैरह्यो !!

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.