ट्रम्प वार्तास्थलबाट हिँडिदिएपछि विपक्षी अन्योलमा

पुुस २६, काठमाडौं । अमेरिकी सरकारी खर्चबन्दी जारी रहेको बेला विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूसँग भएको बैठकको कक्षबाट राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक बाहिर निस्किएपछि वार्ता निष्कर्षहीन बन्न पुगेको छ।

प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी र अर्का विपक्षी नेता चक शुमरले मेक्सिको(अमेरिका सिमानामा प्रस्तावित पर्खालका लागि बजेट थप्न अस्वीकार गरेपछि रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति चुनिएका ट्रम्पले वार्ता तोडिदिएका हुन्। राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूसँगको बैठकलाई, उनकै शब्दमा, ‘समय खेर फाल्ने कार्य’ भनेका छन्। सरकारी खर्चबन्दी सुरु भएपछि करिब ८ लाख संघीय कर्मचारीहरू यो साता पहिलो पटक बेखर्ची बन्न गइरहेका छन्।

‘बाइ बाइ’
बैठकपछि सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै ट्रम्पले आफूले डेमोक्र्याट नेताहरूलाई ‘बाइ बाइ’ अर्थात टाटा भनेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘चक र न्यान्सी सहभागी बैठकमा समय पूरै खेर गयो। मैले सोधेँ ३० दिनमा के होला ? यदि मैले सरकारी खर्च फेरि खोलिदिएँ भने के सिमानामा स्टिलको पर्खाल बनाउनको लागि बजेट छुट्याउन अनुमति दिनुहुन्छ ?’ तर सकारात्मक प्रतिक्रिया नआएकोले आफू बैठकबाट बिदा भएको उनले बताए। उनको भनाइमा उनीसँग त्यसो गर्नु भन्दा दोस्रो कुनै विकल्प थिएन। ह्वाइट् हाउस बाहिर दुवै पक्षका नेताहरूले गतिरोध लम्बिनुको दोष एकअर्कोलाई लगाइरहेका थिए।

‘ठूलो क्षति’
प्रतिनिधिसभाकी सभाभुख न्यान्सी पेलोसीले कर्मचारीको खर्च बन्द गर्ने कदमले ट्रम्पलाई ‘ठूलो क्षति’ पुगेको प्रतिक्रिया दिइन्।
डेमोक्र्याटिक नेता शुमरले बैठकबारे भने, ‘उनले सभामुख न्यान्सीलाई सोधे तपाईँहरू सहमत हुनुहुन्छ। उनले भनिन् छैनौं। त्यसपछि उनी उठे र बैठकको कुनै अर्थ छैन भन्दै हिँडे। उनले फेरि रिस र घुर्की देखाए।’ ट्रम्पले सिमानामा स्टिलको पर्खालका लागि ५.७ अर्ब डलर माग गरेका छन्। त्यसले उनको चुनावी वाचालाई पूरा गर्न मदत गर्दछ। तर डेमोक्र्याटहरूले त्यसलाई अस्वीकार गरिरहेका छन्।–बिबिसि

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.