पुस २६, भरतपुर । चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना भएकाे छ । दुर्घटनामा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन ।
नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधबार साँझ अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी गोरखा ताङग्राङ गाउँपालिका–४ बस्ने ३३ वर्षीय होममाया थापा (लामिछाने) को चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । अटोमा सवार उनका श्रीमान ३५ वर्षीय सन्तोष लामिछाने र छोरा पाँच वर्षीय सुशान्त घाइते भएका छन । गम्भीर घाइते सुशान्तको भरतपुरमा उपचार हुन नसकेपछि काठमाडौँकाे ग्राण्डी अस्पताल सिफारिश गरिएको छ ।
दुर्घटनाग्रस्त अटो र अटो चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

