पुस २१, काठमाडौँ । सत्तारुढ दल संघीय समाजवादी फोरमले संसदको हिउँदे अधिवेशनबाटै संविधान संशोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्मरण गराएको छ ।
बालुवाटारमा आज भएको भेटमा ११ बुँदे स्मरण पत्र बुझाउँदै पुराना सम्झौता पुरा गर्न माग गरिएको हो । संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरण र राष्ट्रिय पहिचानको मान्यतालाई संस्थागत गर्न र राष्ट्रिय समस्याहरुलाई हल गर्न समेतका लागि संविधान संशोधन आवश्यक रहेको फोरमको माग छ । यस्तै, दुई तिहाइ समर्थन प्राप्त सरकारका कामबारे समीक्षा र विश्लेषण गर्न पनि फोरमले आग्रह गरेको छ ।
स्मरण पत्रमा विद्यमान समस्या हल गर्न नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम दुवै पार्टीका बीचमा संयुक्त कार्यदल बनाउनुपर्ने फोरमको सुझाव छ । सरकारले जनतालाई सामाजिक न्याय र सुशासनको प्रत्याभूति गराउन नसकेकोमा समेत ध्यानाकर्षण गराउँदै फोरमले सम्हालेका मन्त्रालयको काममा प्रभावकारिता बढाउन प्रधानमन्त्रीको सहयोग माग गरिएको छ ।
बालुवाटारमा भएको भेटवार्तामा नेकपाका तर्फबाट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा र नेकपाका महासचिव विष्णु पौडेल सहभागी थिए । त्यस्तै, फोरमको तर्फबाट पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

